एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको निधन अन्त्येष्टि आजै गरिने

इनेप्लिज २०७२ जेठ ३० गते ५:५० मा प्रकाशित

8604147321_b5cccfda65काठमाडौँ, ३० जेठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गएराति करेन्ट लागेर निधन भएको छ ।

भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका श्रेष्ठको सो घरको वाइरिङ मिलाउने क्रममा करेन्ट लागी निधन भएको एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिनुभयो ।

करेन्ट लागेलगत्तै परिवारका सदस्यले उपचारका लागि अल्का अस्पताल लगेपनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ७ देखि ९ बजेसम्म थ्रीस्टार क्लब मङ्गलबजार र ९ बजेपछि अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिने तुलाधरले जानकारी दिनुभयो ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

अढाइ दशकभन्दा लामो समयदेखि मुलुुकको फुटबल खेलमा समर्पित थ्रीस्टार क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठको अकल्पनीय निधनले सम्पूर्ण खेल क्षेत्रमा ठूलो क्षति पुगेकोे बताउँदै तुलाधरले नेपाली फुटबल क्षेत्रले एउटा हस्ती र मिलनसार व्यक्ति गुमाएको प्रतिक्रिया दिनुभयो ।

तीन कार्यकाल थ्रीस्टार क्लबको अध्यक्ष भइसक्नुभएका श्रेष्ठको व्यावसायिक फुटबलमा पनि महत्वपूर्ण योगदान रहँदै आएको छ ।

प्रतिक्रिया