मुस्ताङ, ३० जेठ । उपल्लो मुस्ताङको छ गाविसमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसँगै बढेको चिसाले चार हजार पशुचौपाया मरेका छन् ।
लोमान्थाङ, छोसेर, छोन्हुप, घमी, चराङ र झोङ गाविसमा किसानले पालेका पशुचौपाया मरेपछि त्यस क्षेत्रका किसानलाई कम्तीमा रु ४५ करोड बराबरको नोक्सानी भएको छ ।
जिल्ला पशु सेवा कार्यालय मुस्ताङले वैशाख र जेठ महिनामा गरेको तथ्याङ्क सङ्कलनबाट चिसोले अहिलेसम्मकै बढी पशुचौपाया मरेको र त्यसबाट किसानले ठूलो क्षति व्यहोर्नुपरेको देखाएको छ । कार्यालयका पशु चिकित्सक नन्दलाल बर्माले ती गाविसमा तीन हजार ९८५ पशुचौपाया भोकभोकै कठ्याङ्ग्रिएर मरेको जानकारी दिनुभयो ।
असोज अन्तिमसाता आएको हुडहुड आधी र त्यसपछि निरन्तर हिउँ परेपछि त्यस क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेको थियो । बर्माका अनुसार सबैभन्दा बढी च्याङ्ग्रा तीन हजार ७३९, लुलुगाई १५४, याक ४८, झोपा १६, भेडा ११ र १७ वटा घोडा मरेका छन् । छ गाविसमध्ये छोसेर गाविसमा सबैभन्दा बढी एक हजार २९९ च्याङग्रा मरेको तथ्याङ्कले देखाएको छ ।
बर्माले भन्नुभयो, “पशु विभागसँगको सहकार्यमा छ गाविसमा पशुपालनका लागि व्यवस्थित गोठ र घास भण्डार कार्यक्रम सञ्चालनको तयारी भएको छ ।”
पकेट क्षेत्रमै भेडा र च्याङग्रा मरेपछि यस वर्ष दसैँ र तिहारमा यसको मूल्य आकाशिने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया