कालीकोट, २९ जेठ । जिल्लाको उत्तर पश्चिममा रहेको फुकोट गाविसमा उच्च रक्तश्रावका कारण आज बिहान सुत्केरी महिलाको मृत्यु भएको छ ।
फुकोट गाविसको वडा न ७ पलाँतिवाडा गाउँकी जिते लुवारकी ४० वर्षीया श्रीमती जसु लुवारको ज्यान गएको हो । स्थानीयवासी दुर्गा न्यौपानेले दिएको जानकारीअनुसार छोरीको जन्म दिएकी जसुको लगातार रक्तश्राव भएपछि ज्यान गएको हो । दुर्गाका अनुसार गर्भवती अवस्थामा पूरै जीउ सुन्निएको र बच्चा जन्मिसकेपछि रगत लगातार बग्दा उपचार गर्दागर्दै ज्यान गएको हो ।
मृतक जसुका पाँच छोरी र एक छोरा छन् । छोराको आशामा अरु सन्तान जन्माउने क्रममा कमजोर भएका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् । श्रीमान् भारत गएका बेला सुत्केरी भएको र घरमा पुगेको समयमा औषधि उपचारभन्दा पनि झारफुक गर्दागर्दै ज्यान गएको बताइएको छ ।
ग्रामीण क्षेत्रमा बिरामी भएपछि औषधि उपचारभन्दा पनि झारफुक र देवता हेराउने चलनका कारण कैयौँ बिरामीले अकालमा ज्यान गुमाउनुपरेको बताइएको छ ।
प्रतिक्रिया