पाँचथर, २९ जेठ । ताप्लेजुङको उत्तर–पश्चिमी छ वटा गाउँ विकास समितिमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।
स्थानीयवासीले पहिरोमा पुरिएर ५७ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले भने अहिलेसम्म २३ जनाको शव फेला परेको र ३७ जना बेपत्ता रहेको जनाएको छ ।
घटनामा परी गम्भीर घाइते भएका १० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको छ । तीमध्ये पाँच जनाको अवस्था नाजुक रहेको छ ।
स्थानीयवासी हेम लिवाङका अनुसार लिवाङ गाविसको वडा नं १ मा १२ जना, २ मा आठ जना, ३ मा चार जना, ४ र ६ मा एक÷एक जना गरी २६ जनाको मृत्यु भएको छ ।
उहाँका अनुसार मृत्यु हुनेमा वडा नं १ का सञ्चहाङ फेम्सोहाङको एकै परिवारका नौ जनासहित एउटै घरमा रहेका १० जनाको मृत्यु भएको छ ।
यस्तै, सान्थाक्रामामा १२ जना, खोक्लिङमा नौ जना, थिङलाबुको याक्पेलीमा पाँच जना र लिङतेपमा पाँच जनाको मृत्यु भएको छ ।
पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जनभन्दा बढी घर पहिरोले बगाएको छ । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।
लगातारको झरीका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गएरातिको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेकाले झनै समस्या परिरहेको छ, घटनास्थलमा पुग्न बाटो नभएकाले वैकल्पिक बाटोको प्रयोग गरेर सुरक्षा निकाय गइरहेका छन् ।”
प्रधानमन्त्री र एमाले अध्यक्षको अवलोकन कार्यक्रम स्थगित
मौसममा खराबी भएका कारण प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आजको प्रभावित क्षेत्र अवलोकन कार्यक्रमसमेत स्थगित भएको छ ।
प्रभावित क्षेत्रमा कुहिरो लागिरहेका कारण उद्धारका लागि आएको हेलिकप्टर सशस्त्र प्रहरी बलको कञ्चनजङ्गा गुल्ममा रोकिएको प्रजिअ डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो ।
ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन । बुधबार राति गएको पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रधानसेनापति राणासहितको टोली यहाँ आउने कार्यक्रम थियो ।
प्रतिक्रिया