बजेट अभावमा क्यान्सर अस्पताल सङ्कटमा

इनेप्लिज २०७२ जेठ २९ गते २:१३ मा प्रकाशित

BP-Cancer-Hospital-Hamrakura.com_चितवन, २९ जेठ । एसियाको नमुना अस्पतालका रुपमा चिनियाँ सहयोगमा चितवनको भरतपुरमा सञ्चालित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक सङ्कटमा फसेको छ ।

बर्सेनि खर्च बढ्दै जाने र बजेट घट्दै गएपछि अस्पतालका चिकित्सक र कर्मचारीका तलब एवम् सामान्य खर्चबाहेक अन्य कुनै काम अस्पतालमा हुन सकेको छैन । जसका कारण उपकरण मर्मत सम्भार हुन नसक्दा बिरामीले सास्ती व्यहोर्नुपरेको छ भने बाहिर निजी अस्पतालले महँगो शुल्क असुलिरहेका छन् ।

स्वास्थ्य कर कोष नियमावली २०५१ अन्तर्गत रकम सङ्कलन गरी त्यही रकमबाट अन्य अस्पतालसँगै यस अस्पताल सञ्चालन गर्ने सरकारी योजनाको तालमेल हुन नसक्दा अस्पताल आर्थिक सङ्कटमा फसेको हो ।

आर्थिक वर्ष २०६७÷०६८ मा कोषबाट अस्पतालमा रु ३३ करोड १३ लाख बजेट निकासा भएकोमा ०६८÷६९ मा रु ३३ करोड ४६ लाख, ०६९÷७० मा रु २९ करोड ४२ लाख, ०७०÷७१ मा रु २४ करोड ५० लाख र चालु आर्थिक वर्षमा रु २४ करोड ६० लाख मात्रै बजेट निकासा भएको जानकारी अस्पतालका उपनिर्देशक देजकुमार गौतमले दिनुभयो ।

अस्पतालले आन्तरिकतर्फ शुल्कवृद्धि नगरेपछि आम्दानी बढाउन सकेको छैन । गत आर्थिक वर्षमा रु १० करोड १६ लाख आन्तरिकतर्फ आम्दानी भएको थियो भने त्यसअघिका वर्षमा पनि सोही हाराहारीमा मात्र आम्दानी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा रु ४९ करोड खर्च भएको थियो भने त्यसअघिका दुई वर्ष वार्षिकरुपमा रु ४६ करोड खर्च भएको थियो ।

कोषको रकम र आन्तरिक आम्दानीले नधानेपछि अघिल्ला दुई वर्षदेखि नै कर्मचारी कल्याण कोष, उपदानकोष, स्वास्थ्य उपचार कोषलगायत सङ्कलित रु २८ करोड सञ्चालनमा खर्च भएको जानकारी उपनिर्देशक गौतमले दिनुभयो । ती सबै कोषका रकमसमेत सकिएपछि यस वर्षको जेठ असारमा कर्मचारी तलब र वर्षभरि खरिद गरिएका सामग्रीको भुक्तानीसमेत नभएको उहाँले बताउनुभयो ।

गतवर्ष खरिद गरिएका विभिन्न सामग्रीको रु १४ करोड यस आर्थिक वर्षमा भुक्तानी गरिएको अस्पतालले जनाएको छ । नियमितरुपमा भुक्तानी दिन नसकेपछि सामग्री खरिद गर्नसमेत नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनले बताउनुभयो । बजेट अभावका कारण गत चैत महिनाबाट सिटिस्क्यान मेसिन बिग्रिएपनि मर्मत हुन सकेको छैन । त्यसैगरी स्तनक्यान्सर पत्ता लगाउने मेमोग्राम पाँच वर्षदेखि बिग्रिएर थन्किँदा सबै बिरामी निजी अस्पतालमा भर पर्नुपरेको छ ।

अस्पतालको शल्यक्रिया टेबलदेखि ल्याब परीक्षणका उपकरण, रेडियो थेरापीका उपकरण थन्किने अवस्थामा पुगेको कार्यकारी निर्देशक पुनले बताउनुभयो । उपकरण उपलब्ध नहुँदा अस्पतालको शुल्कभन्दा चार गुणाभन्दा बढी शुल्क तिरेर बिरामी निजीमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल सञ्चालक समितिका सदस्य राम न्यौपानेको भनाइ छ ।

आर्थिक अभावकै कारण आउँदो भदौमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको अस्पताल भवन अलपत्र परेको छ । रु ६० करोडमा ठेक्का दिइएको भवनको हालसम्म रु ३० करोड मात्रै बजेट निकासा भएको उपनिर्देशक गौतमले बताउनुभयो । हाल १०० शय्या स्वीकृत भएर पनि १९४ शय्या सञ्चालनमा आएको सो अस्पतालमा थप दुई सय शय्याका लागि दुई वर्षअघिबाट भवन निर्माण थालिएको हो ।

बजेट समयमा नआउँदा खर्च बढेर रु एक अर्ब पुग्ने अवस्थामा पुगेको र थप बजेटका लागि माग भइरहेको भएपनि निकासा हुन नसक्दा समस्या उत्पन्न भएको उपनिर्देशक गौतमले बताउनुभयो ।

अस्पतालमा आन्तरिक रुपमा कर्मचारीका बीचमा विगतदेखि नै हुँदै आएको राजनीतिक बेमेलका कारण स्वास्थ्य र अर्थ मन्त्रालयका जिम्मेवार कर्मचारीसँग एकमत भएर बजेटको विषयमा छलफल समेत हुन सकेको छैन । समयमै अस्पतालको विषयमा सोच्न नसकिए आउँदा दिनमा अस्पताल सञ्चालनमा नै बाधा पुग्ने कार्यकारी निर्देशक पुनको चिन्ता छ ।

अस्पतालमा वार्षिकरुपमा नेपाल र भारतका गरी एक लाख बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये २६ हजार क्यान्सरका बिरामी हुने अस्पतालले जनाएको छ । बर्सेनि छ हजार नयाँ क्यान्सरका रोगी थपिने गरिएकोे र शल्यक्रियामात्र झण्डै तीन हजारको गरिने डा पुनले बताउनुभयो । विसं २०५२ मा विपी कोइरालाको नामबाट सो अस्पताल स्थापना गरिएको हो ।

प्रतिक्रिया