शिक्षक र अभिभावकको कारणले दयनीय बन्यो विद्यालय

इनेप्लिज २०७२ जेठ २९ गते १:२८ मा प्रकाशित

तौलिहवा (कपिलवस्तु), २९ जेठ । कपिलवस्तुको तिर्तिखी गाविस–७ रजवापुरमा रहेको रघुनाथ प्राविको स्थिति दयनीय बन्दै गएको छ ।

शिक्षक र अभिभावक दुवैले चासो नदिएपछि विद्यालयको शैक्षिक र व्यवस्थापकीय पक्ष दिनानुदिन दयनीय बन्दै गएको हो ।

नब्बे विद्यार्थी रहेको सो विद्यालयमा दुईजना मात्र शिक्षक रहेका छन् । सो विद्यालयका प्रअ रामानन्द यादव विद्यालयको नियमित काममा भन्दा तालिममै व्यस्त रहने र अर्का शिक्षक दयानाथ चोबे मुस्लिकले महिनाको एक दुई दिनमात्र विद्यालयमा आउने स्थानीयवासी बताउँछन् ।

विद्यालयको स्थिति सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसमेतले चासो नदिएको विद्यालय अभिभावक समितिका पञ्चगुलाम नाउले बताउनुभयो ।

“छ वर्षअघि सञ्चालन गरिएको विद्यालयको अवस्था नाजुक बन्दै गएपछि विद्यालयको गिर्दो अवस्था रहेको नाउले बताउनुभयो । विद्यालय स्थापना भएदेखि सुरुका दिनमा भवन नहुँदा बगैँचामा पढाइ हुन्थ्यो तर अहिले भवन हुँदा त झन पढाइ नै हुँदैन ।”

विद्यार्थीको सङ्ख्या कम भएपछि विद्यालयमा बालबालिकाको नियमित उपस्थितिका लागि चालु आवदेखि दिवा खाजा कार्यक्रम समेत सञ्चालित छ । त्यसका लागि सात सदस्यीय समितिसमेत गठन गरिएको छ ।

प्रअ यादवले व्यवस्थापकीय अभावको कारणले खाजा कार्यक्रम समेत नियमिति हुन नसकेको र अभिभावकले समेत साथ नदिँदा विद्यालयको अवस्था कमजोर बनेको बताउनुभयो ।

प्रतिक्रिया