गैँडाको खागसहित पक्राउ

इनेप्लिज २०७२ जेठ २८ गते १३:४७ मा प्रकाशित

pakraauधनगढी, २८ जेठ । दुर्लभ वन्यजन्तु गैँडाको खाग र दाँत जस्तो वस्तुसहित कैलाली जिल्लाको लम्की–चुहा नगरपालिकाबाट प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

प्रहरीको क्षेत्रीय अनुसन्धान समूह सेतीको टोलीले लम्की–चुहा नगरपालिका– ११ का लोकराज भनिने लाहुरे जैसी र वडा नं १२ का नरेन्द्र देवकोटालाई एक थान गैँडाको खाग र एक थान दाँत जस्तो वस्तुसहित पक्राउ गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बरामद भएको वस्तुसहित अभियुक्तलाई आज सार्वजनिक गरिएको हो । प्रहरीले वस्तुको चोरी तस्करीमा संलग्न भएका भनिएका मुख्य व्यक्ति भने फरार रहेको जनाएको छ ।

प्राप्त गोप्य सूचनाका आधारमा झन्डै दुई हप्तासम्म गरिएको निगरानीको फलस्वरुप प्रहरी टोली लम्की–चुहा नगरपालिका–४ का नन्दऋषि चौलागाईंको खेतबारीमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त वस्तु बरामद गर्न सफल भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले बताउनुभयो ।

पक्राउ परेका व्यक्ति खागको चोरी तस्करीमा संलग्न भएको प्रमाणित भएमा उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार पाँच वर्षदेखि १५ वर्ष कैद र रु रु एक लाख जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया