खानेपानी योजना मर्मत नहुँदा माल्नेटामा पानीको हाहाकार

इनेप्लिज २०७२ जेठ २८ गते १३:४६ मा प्रकाशित

Drinking-Waterसल्यान जेठ २८ । अदुवाखेतीका लागि प्रख्यात मानिएको सल्यान जिल्लाको डाँडागाउँ माल्नेटामा खानेपानीको हाहाकार हुन थालेको छ । खानेपानी नहुँदा गाउँमा रहेका २५० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ ।

विसं २०४५ मा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको खानेपानी योजनाको मर्मतसम्भार हुन नसकेपछि अहिले गाउँमा पानीको सङ्कट पर्न थालेको छ । २०४५ सालमा करिब रु ३० लाखको लागतमा दमाचौर र लेखपोखरा गाविसको सिमानाबाट खानेपानी योजना सञ्चालन गरिएको थियो । पूरै गाविसमा ४५ वटा धारा निर्माण गरिएको भए पनि अहिले कुनै पनि धारामा पानी नआउने स्थानीयवासीको भनाइ रहेको छ ।

गाउँमा खानेपानी नआएपछि गाउँमा रहेका कुवा तथा इनारमा बिहानैदेखि पानी लिनेको भीड लाग्न थालेको छ । गाउँमा रहेका कुवा पनि बर्सेनि सुक्दै गएपछि आवश्यकताअनुसार पानी पाइन छोडेको स्थानीय ज्ञानदेव घर्तीले वताउनुभयो । “एक गाग्री पानी ल्याउन दुई घन्टा हिँडेर तीन घन्टासम्म पालो कुर्नुपर्छ, परिवारमा दुई तीन जनाको त पानी ओसार्ने मात्रै काम हुन्छ” – घर्तीले भन्नुभयो ।

देशमै बोसे अदुवा उत्पादनका लागि माल्नेटा चिनिएको भएपनि खानेपानीको अभावले बसाइँ सर्ने अवस्थासम्म पु¥याएको घर्तीले बताउनुभयो । खानेपानीको अभाव भएको वर्षौं भइसक्दा पनि सम्बन्धित निकायको चासो नहँुदा गाउँले दिनप्रतिदिन समस्यामा पर्दै गएको उहाँले बताउनुभयो ।

जिल्लामै अदुवा उत्पादनका हिसाबले राम्रो ठाउँ भए पनि सिँचाइ त के खानेपानी समेत नहुँदा समस्या भएको स्थानीय कृष्ण गिरीले बताउनुभयो । “अदुवा चैत वैशाखमा लगाउँछौँ, जेठ महिनासम्म पनि पानी नपरे अदुवासमेत सुकेर खेर जान्छ,” गिरीले भन्नुभयो – “खानेपानी ल्याउनका लागि साँझ बिहान कुवामा कुर्नुपर्ने भएकाले बालबालिकाको पढाइमा समेत असर परेको छ । ठूलाले अरु काम गर्छन् छोराछोरीलाई पानी ल्याउन पठाउँदा धेरै समय पानीमा नै खर्च हुन्छ ।”

गाउँ वरिपरि दुई तीनवटा मात्र कुवा भएको र त्यसमा पनि पानी कम हुँदै गएकाले पछिल्लो समय समस्या पर्दै गएको छ । गाईवस्तुलाई समेत खुवाउने पानी नभएपछि घरमा पालेका वस्तुभाउसमेत घटाउनुपरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया