भीमदत्तनगर, २८ जेठ । खानेपानी अभावका कारण डडेल्धुरामा परशुराम नगरपालिका केही स्थानमा विद्यालयको अध्ययन/अध्यापन नै प्रभावित बनेको छ ।
परशुराम नगरपालिका–५ परिगाउँमा रहेको विशालपुरमा रहेको महाकाली प्राविका विद्यार्थी पूरा दिन पढाइ गर्नबाट वञ्चित हुँदै आएका छन् । खानेपानी अभावका कारण बिहान १० बजेसम्म मात्रै अध्यापन हुने गरेको छ ।
अत्यधिक गर्मीसँगै विद्यार्थी पानीको अभावले पानी प्यास मेटाउन विद्यालय छाडेर घर जान थालेपछि पढाइ प्रभावित बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ ।
जिल्ला खानेपानी र ग्रामीण जलस्रोत व्यवस्थापन डडेल्धुराले विद्यालयमा खानेपानीको धारा जडान गर्ने आश्वासन दिएपनि पूरा नगरेका कारण विद्यालयमा खानेपानी पुर्याउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख सिलालले जानकारी दिनुभयो ।
पचहत्तर जना अध्ययनरत रहेको उक्त विद्यालयमा अधिकांश दलित समुदायका छन् । उक्त गाउँमा वर्षौंदेखि खानेपानीको हाहाकार हुने गरेको स्थानीयको भनाइ छ । स्थानीयले आफूहरु दलित भएकै कारण खानेपानीको धारा जडानमा पनि विभेद गरेको दुखेसो पोखेका छन् ।
“स्कुलकै लागि पानी पुर्याउन धेरै गुहार गर्यौँ ।” अध्यक्ष सिलालले भन्नुभयो– “छिमेकी गाउँमा पानीका धारा जडान गरिए पनि हामीलाई वास्ता गरिएन ।”
प्रतिक्रिया