महोत्तरीमा असहनीय गर्मीसँगै बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि

इनेप्लिज २०७२ जेठ २८ गते २:५३ मा प्रकाशित

10_06_2015-heat9महोत्तरी, २८ जेठ । महोत्तरी जिल्लामा केही दिनदेखि असहनीय गर्मीसँगै बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ ।

प्रचण्ड घामसँगै जिल्लामा ३८ देखि ४१ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढेको पाइएको छ भने असहनीय हुँदै गएको गर्मीका कारण अहिले जिल्लाभरि विभिन्न रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा ह्वात्तै बढेको गर्मीका कारण प्रत्येक घरमा अहिले २÷३ जना औसतमा बिरामी रहेका छन् । गर्मीबाट प्रभावित भएर जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला अस्पतालमा अहिले दैनिक २५० देखि ३०० सम्म बिरामी आउने गरेको मेडिकल अधिकृत डा राजीव झाले बताउनुभयो ।

त्यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म गर्मीबाट प्रभावित बिरामी आउने गरेको बताइएको छ ।

गर्मीले सुरुमै प्रचण्ड रुपका देखाएको कारण जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, कमलपित्त र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निक्कै वृद्धि भएको जिल्ला अस्पताल जलेश्वरका चिकित्सक सतिश साहले बताउनुभयो ।

त्यस्तै दिनानुदिन बढ्दै गरेको चर्को घामका कारण जिल्लावासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण देखापरेको चिकित्सक प्रमोदकुमार साहको भनाइ छ ।

चर्को घाम र गर्मीका कारण प्रभावित बिरामीमा बालबालिका, वृद्धवृद्धा मात्रै नभएर वयस्क र घरभित्रै बस्नेको सङ्ख्या पनि सोही अनुपातमा रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया