चितवन, २७ जेठ । आन्तरिक राजस्व कार्यालय भरतपुरले अनुमति नलिइ मदिरा बेचबिखन गर्ने नारायणगढको पोखरा बसपार्क वरपरका सात वटा होटल एवम् पसलबाट आज मदिरा जफत गरेको छ ।
कार्यालय प्रमुख टिकाराम भुषालका अनुसार विवि थापा कोल्ड स्टोर्स, तनहुँ होटल, होटल रोयल सतनचुली, हाम्रो भूपू सैनिक होटल, विराज स्टाफ होटल, तनहुँ लमजुङ होटल र निश्चल कोल्ड स्टोर्सबाट मदिरा जफत गरिएको हो ।
तीमध्ये कतिपयले प्यान नम्बर नलिइ व्यवसाय गरेको र अधिकांशको अन्तःशुल्क अनुमतिपत्रसमेत नभएको उहाँले बताउनुभयो । ती व्यवसायीले घरेलु, स्वदेशी र विदेशी मदिरा बिक्री गरेको प्रमुख भुषालले बताउनुभयो ।
होटल तथा पसलमा रहेका सबै मदिरा जफत गरिएको कार्यालयले जनाएको छ । अन्तशुल्क ऐन, २०५८ अनुसार अन्तःशुल्क लाग्ने वस्तुहरु मदिरा, बियर र सूर्तीजन्य पदार्थको कारोबार गर्नु अगाडि इजाजत लिनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया