उपसमितिले थप समय माग्यो ,समितिको बैठक बिहीबार बिहान बस्ने

इनेप्लिज २०७२ जेठ २७ गते १४:४९ मा प्रकाशित

CPDCC Meetingकाठमाडौँ, २७ असोज । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक भोलि बिहान १० बजे बस्नेगरी स्थगन भएको छ ।

समितिको आज साँझको बैठकमा संविधान लेखनलाई सजिलो तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्न गठन भएको उपसमितिले दिनभर गरेको कामको प्रगति विवरण सुनाएको थियो ।

उपसमितिले आफूलाई दिएको जिम्मेवारीलाई पूरा गर्न थप केही समयको माग गरेपछि समितिको बैठक भोलि १० बजेसम्मका लागि स्थगन भएको हो ।

समितिको आज बिहानको बैठकले पूर्णबहादुर खड्काको अध्यक्षतामा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । दलबीच भएको १६ बुँदे सहमतिको मूलभावनालाई समेटेर संविधान लेखनलाई तीव्र तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्ने जिम्मेवारी दिइएको थियो ।

समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति डा बाबुराम भटटराईले धेरै नै विषयवस्तु भएकाले उपसमितिले केही विषयवस्तु टुङग्याउन बाँकी रहेको प्रतिवेदन दिएको हुँदा बैठक भोलिका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

राजनीतिक संवाद समितिले दिएको एक र संविधान निक्र्याैल समितिले दिएको सात वटा प्रतिवेदनको उपसमितिले अध्ययन गरेर सहमतिको प्रस्ताव निर्माण गर्ने छ । उपसमितिले अधिकांश विषयमा सहमतिका आधारमा प्रस्ताव तयार गरेपनि नागरिकतालगायत केही विषयमा दलका शीर्ष नेताको धारणा माग गरेको बुझिएको छ ।

निक्र्याैल समितिले दिएको सातवटा प्रतिवेदनमध्ये चारवटा प्रतिवेदनमा आंशिक रुपमा मात्र दलबीचमा सहमति भएको थियो भने बाँकी रहेको तीन वटा प्रतिवेदनमा पूर्णरुपमा सहमति खोज्नु पर्ने काम बाँकी नै छ ।

संवाद समितिको भोलि बस्ने बैठकले चार दलबीच भएको सहमतिका आधारमा सहमतिको प्रतिवेदन संविधानसभामा पठाउने छ । उपसमितिले त्यसका लागि आज राति अबेरसम्म बसेर सहमतिको प्रस्ताव तयार गर्ने बुझिएको छ ।

प्रतिक्रिया