माइती नेपालद्वारा जस्तापाता वितरण

इनेप्लिज २०७२ जेठ २७ गते १४:१७ मा प्रकाशित

Rss_Images_1432893358795_RL-KTM- Dhading Jasta news (6)गाउँखर्क (नुवाकोट), २७ जेठ । मानव बेचविखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपालले जिल्लाको गाउँखर्क वडा नंं ८ र ९ का १८३ घरधुरीलाई अस्थायी बसोवासका लागि आज जस्तापाता वितरण गरेको छ ।

अहिलेसम्म अस्थायी बसोवासका लागि कतैबाट सहयोग नपाएका त्यहाँका बासिन्दालाई प्रतिघर एक एक बन्डलका दरले १८३ बण्डल जस्ता पाता वितरण गरिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।

बर्खा कसरी काट्ने भन्ने चिन्ताले सताएका बेला माइती नेपालको परोपकारी कामले आफूहरू हर्षित भएको भन्दै स्थानीय वीरबहादुर तामाङले वर्षाभरि पानीमा रुझ्दै दिनहरू काट्नुपर्ला भन्ने चिन्ता हटेको बताउनु भयो ।

विनाशकारी भूकम्पका कारण गाउँखर्क ८ र ९ वडामा ११ जनाको मृत्यु भएको थियो ।

माइती नेपालले मानव वेचविखनको बढी सम्भावना भएका क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न, नुनतेल, लत्ताकपडा, झुल, त्रिपाल, टेन्ट, औषधि वितरणसँगै अस्थायीरुपमा पुनःनिर्माणको काममा अग्रसर भएको निर्देशक खड्काले जानकारी दिनुभयो ।

माइती नेपालले यसअघि दोलखाको जफे गाविस, नुवाकोटको सिन्चे, चिलाउने, बास्कोटे, अरकौले, ककनी, महादेवडाँडा, घ्याङ्फेदी, राउतबेँसी, सिन्धुपाल्चोकको बरुवा, सिखरपुर, दुवाचौर, महाँकाल काठमाडौंको थप्लेगाउँ, मसिनी, बाडभन्ज्याङ, बोसीगाउँ,, ललितपुरको भट्टेडाँडा, प्युटार, लाकुरीभन्ज्याङ, सिद्धीपुर क्षेत्र, काभ्रेको दाप्चा, छत्रेभन्ज्याङ डराउने पोखरी, पुरानो गाउँ, बसेरी गाउँ, बलथली र खोपासीलगायतमा खाद्यान्न र अस्थायी बसोवासका लागि जस्तापाता वितरण गरिसकेको जनाएको छ ।

भूकम्पबाट अनाथ बन्न पुगेका साथै हिंसाको जोखिममा रहेका २०० जना बालिकालाई संरक्षण दिने योजनाअनुरुप अहिले सम्पर्कमा आइसकेको निर्देशक खड्काले उल्लेख गर्नु भयो ।

उहाँका अनुसार माइती नेपालले भूकम्पपछि राम्रो जागिर दिने प्रलोभन देखाएर विभिन्न व्यक्तिले भारत लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको सहयोगमा विभिन्न नाकाबाट ४० युवतीको उद्धार गरेको र तीमध्ये कतिपयलाई अभिभावकको जिम्मा लगाइएको र केही अहिले पनि आफूहरुको संरक्षणमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया