काठमाडौँ, २७ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनालाई जतिसक्दो चाँडै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मिडिया इन्टरनेसनलद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भूकम्पका कारण समग्र मुलुकको पर्यटन क्षेत्रमा पुगेको क्षतिको पुनःस्थापनाका लागि स्वदेशकै श्रमशक्ति र प्रविधिको प्रयोग गरिनु पर्ने बताउनुभयो ।
मन्त्री शेर्पाले भूकम्पबाट भएको क्षतिको पूर्णरुपमा व्यवस्थापन गर्न करिब चार÷पाँच वर्ष लाग्ने भए पनि पर्यटनका लागि व्यवस्था गरिएका करिब ९० प्रतिशत होटल सुरक्षित रहेकाले अब छिट्टै पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले आर्थिक विकासको मेरुदण्ड पर्यटन, कृषि र जलस्रोत क्षेत्रलाई भूकम्पले केही मात्रामा क्षति पु¥याए पनि युवाका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्न सकिने प्रचुर सम्भावना रहेको छ भन्नुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले भूकम्पका कारण हिमाली क्षेत्रमा भएको क्षति र पुनःनिर्माणका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार सगरमाथा क्षेत्रमा १७ पर्यटक मृत अवस्थामा भेटिएका छन् । त्यसैगरी ७१ जनाको चार घन्टाभित्रै उद्धार गरिएको छ ।
नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रका श्रमिक भूकम्पबाट अत्यन्त पीडित भएकाले त्यसतर्फ सरकारले कार्ययोजना बताउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय पर्यटन महासङ्घका अध्यक्ष ज्योति अधिकारीले विपत्तिको समय भएको हुँदा राहत वितरण तथा पुनःनिर्माणसँगै संरक्षित बसोबासका लागि सबै नेपाली एकले अर्कालाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।
होटल सङ्घ नेपाल (हान)का कोषाध्यक्ष तथा पर्यटन बोर्डका सदस्य घनेन्द्रबहादुर श्रेष्ठले उपत्यका वरिपरिका करिब सबै होटल सुरक्षित रहेको हुँदा त्रसित नहुन पर्यटकसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया