महोत्तरी, २७ जेठ । अत्यधिक गर्मीका कारण महोत्तरीको बर्दिवास क्षेत्रमा पशुपक्षी तथा चराचुरुङ्गी धमाधम मर्न थालेका छन् । अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएपछि दर्जनौँ सङ्ख्यामा चराचुरुङ्गी तथा पक्षी मर्न थालेका छन् ।
अत्यधिक गर्मीका कारण केही दिनदेखि बर्दिवास क्षेत्रका घरमा पालेका कुखुरा तथा रुपी, ढुकुरलगायतका चराचुरुङ्गी मर्न थालेका बर्दिवास– ५ का विनोद बरालले बताउनुभयो ।
चर्को घामले जस्ता तथा टालीको छाना तात्दा घरमा बस्नसमेत समस्या हुने गरेको खयरमारा–३ का सोमबहादुर तामाङले बताउनुभयो ।
गर्मीका कारण बजार तथा सडकमा मानिसको आवतजावत निकै पातलिएको छ । गर्मीले गर्दा मानिस साँझबिहान मात्रै घरबाहिर निस्कन थालेका छन् । केही दिनदेखि महोत्तरीको तापक्रम न्यूनतम २७ देखि अधिकतम ४२ डिग्री सेल्सियससम्म हुने गरेको छ ।
प्रतिक्रिया