धानको बीउ वितरण सुरु

इनेप्लिज २०७२ जेठ २७ गते ७:०९ मा प्रकाशित

images1_20150603075843पथरी (मोरङ), २७ । कृषि विकास कार्यालय मोरङले जलवायु परिवर्तन अनकुलका धानको बीउ निःशुल्क वितरण सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र इरीको अनुदान सहयोगमा यहाँका कृषकलाई निःशुल्क रुपमा बीउ वितरण गरिएको हो । धानको ब्याड राख्ने समय सुरु भएसँगै अन्तर्राष्ट्रिय संस्था इरीले ४० टन बीउ वितरण गरेको हो । स्वर्णा सव–१, साम्बा मन्सुली, सब– १, र सुख्खा–तीन जातका बीउ प्रत्येक कृषकलाई दुई/दुई किलोका दरले वितरण गरिएको हो ।

त्यसैगरी कार्यालयले १०० हेक्टर क्षेत्रफलमा धानखेती गरी बीउ उत्पादन गरिने समेत जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीका अनुसार धानखेतीमा जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले बीउ वितरण गरिएको हो । आकाशे पानीको भरमा खेती गर्ने कृषकका लागि सुख्खा तीन र डुबान क्षेत्रका लागि स्वर्णा सब–१ जातको बीउ वितरण गरिएको छ ।

“यसवर्ष २० हजार कृषकलाई बीउ वितरण गर्ने लक्ष्य छ” उहाँले भन्नुभयो । अन्यको तुलनामा यो बीउबाट बढी उत्पादन हुने उप्रेतीको भनाइ छ ।

प्रतिक्रिया