आ–आफ्नै जिल्लामा फर्किन भूकम्पपीडितलाई अपिल

इनेप्लिज २०७२ जेठ २७ गते ६:१६ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), २७ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले कसैको लहैलहैमा लागेर वा विभिन्न सङ्घ सङ्गठनले ल्याइदिएको आधारमा निजी तथा सार्वजनिक जग्गामा आई बस्न थालेका भूकम्पपीडितलाई आ–आफ्नै जिल्लामा फर्किन आग्रह गरेको छ ।

जिप्रका चितवनले एक सूचना जारी गरी सम्बन्धित जिल्लामा नै सरकारले व्यवस्थापन गरिरहेका बेला यसरी अनधिकृत रुपमा आई नबस्नसमेत पीडितलाई आग्रह गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सम्बन्धित जिल्लामा परिचयपत्र वितरणको काम चलिरहेकाले राहतलगायत सरकारी सेवाबाट समेत वञ्चित हुने भन्दै तत्कालै चितवनमा आई बसेका विभिन्न जिल्लाका भूकम्पपीडितलाई आफ्नै जिल्लामा फर्कन एक सूचना मार्फत आग्रह गर्नु भएको छ ।

आफूखुसी या कुनै राजनीतिक दल, सङ्घसंस्था तथा सङ्गठनको नेतृत्वमा जिल्लाका सार्वजनिकस्थान या निजी जग्गामा आई भूकम्पपीडित घरटहरा बनाई बस्न खोजेको सन्दर्भमा जिल्ला दैवी प्रकोप उद्धार समिति तथा जिल्लास्तरीय राजनीतिक संयन्त्रको ध्यानाकर्षण भएको यहाँ जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

सम्बन्धित जिल्लामा नै पीडितलाई बस्ने व्यवस्था र राहत वितरणको काम चलिरहेको समेत उक्त सूचनामा जनाइएको छ । यसो गर्दा तत्कालको सुविधामात्रै नभई दीर्घकालमा सरकारबाट पाउने सुविधाबाट समेत वञ्चित हुने भन्दै यसप्रति सचेत हुन भनिएको प्रमुख जिल्ला अधिकारी विकेले बताउनुभयो ।

पश्चिम चितवनको कैलाशनगरलगायत विभिन्न क्षेत्रमा चन्द नेतृत्वको नेकपा माओवादीले मात्रै करिब छ सय भूकम्पपीडितलाई निजी जग्गामा ल्याएर राख्न थालेको छ । सोही विषयमा केही दिनअघि मङ्गलपुरको फुर्ति चोकमा पुगेर प्रहरीले चन्दपक्षीय माओवादीका केही व्यक्तिलाई पक्राउसमेत गरेको थियो ।

प्रतिक्रिया