राहतको खाद्यान्न बेचेको आरोपमा सात पक्राउ

इनेप्लिज २०७२ जेठ २७ गते ५:५९ मा प्रकाशित

pakraauबनेपा, २७ जेठ । भूकम्पपीडितका लागि ल्याइएको राहतका खाद्यान्न बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ गरिएको र पक्राउ परेकामध्ये केहीको संलग्नता पुष्टि हुन नसकेकाले थुनामुक्त गरिन लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

“संलग्नता देखिएकालाई के मुद्दा लगाउने भन्ने विषयमा आज नै टुङ्गोमा पुग्ने छाँै,” जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भन्नुभयो ।

पक्राउ परेकामा गोठपानी–९ का गुणप्रसाद र कृष्णप्रसाद चौलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुञ्जु शेर्पा, बा३ख ६३०९ का चालक प्रकाश तामाङ, चौवास–७ का सूर्यबहादुर लामा र उनका छोरा विजय लामा रहेको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले घटनामा संलग्नता देखिएकाहरुमाथि कडा कारबाही हुने बताउनुभयो । राहतका लागि आएको चामल र चिउरा कोसीपारी गाविसको चौवासस्थित दुई वटा पसलमा फेला परेको थियो ।

प्रतिक्रिया