पानीले बाटो बिगार्‍यो

इनेप्लिज २०७२ जेठ २७ गते ४:३७ मा प्रकाशित

AA017018नवलपरासी, २७ जेठ । गएराति नवलपरासीको पहाडी क्षेत्रमा ठूलो पानी परेको छ । वर्षाका कारण पहाडी क्षेत्रको कच्ची मोटरबाटोमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । भूकम्पका कारण कमजोर भएका पहाडी क्षेत्रमा पानी परेसँगै खसेका स–साना पहिरोले पनि बाटो अवरुद्ध भएको हो ।

पानी परेसँगै पहाडी क्षेत्रका किसानले राहत महसुस गरेका छन् । पानी परेसँगै पहाडी क्षेत्रमा गर्मी केही कम भएको छ । त्यस्तै हिजो साँझ आएको हावाहुरीले जिल्लाको जौवारी–६ राईकोटमा दुई घरको छानो उडाएको छ ।  स्थानीय बासिन्दा पृथ्वीलाल रानामगरले दिनुभएको जानकारीअनुसार साँझ करिब ६ः३० बजेतिर आएको हावाहुरीले तुलबहादुर वीरकट्टा र गोकुल राईको घरको छानो उडाइदिएको हो ।

त्यस्तै नवलपरासीको देवचुली–८ मा मनवीर पुलामीको घर हावाहुरीले पूर्णरुपमा क्षति भएको छ भने देवचुली–७ आँपटारीमा सुकबहादुर तामाङको घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै हावाहुरीकै कारण रुख ढल्दा जौवारी–२ बस्ने मानबहादुर सुनारीमगरको दुईतले टिनको छाना भएको घर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

वर्षाका कारण बाटो अवरुद्ध भएपछि मङ्गलबार भूकम्पबाट प्रभावित भएका क्षेत्र नं १ का ५ पहाडी गाविसलाई राहत बाड्ने कार्यक्रम पनि स्थगित भएको छ ।  बुलिङ्टार गाविसमा सभासद् डा शशाङ्क कोइरालाले राहत बाँड्ने कार्यक्रम थियो ।

प्रतिक्रिया