सम्मान पाएर वृद्धवृद्धा हर्षित

इनेप्लिज २०७२ जेठ २७ गते ४:११ मा प्रकाशित

Palpa Mapपाल्पा, २७ जेठ । सेतै फुलेको कपाल, चाउरी परेको अनुहार, शिरमा पाल्पाली ढाका टोपी । पाँच वर्षदेखि खुट्टा दुख्ने रोगबाट ग्रस्त तानसेन–८ भगवती टोलका ८५ वर्षीय कृष्णप्रसाद श्रेष्ठको अनुहारमा एक्कासि मुकान देखियो । उहाँ मात्र होइन, उहाँकै सहकर्मी ७४ वर्षीय कृष्णबहादुर रणपालको अनुहारमा पनि त्यस्तै मुस्कान देखियो । अनि पररर् ताली बज्यो ।

श्रीनगर टोलविकास संस्था र तानसेन नगरपालिकाको सहयोगमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम यहाँका २१ जना वृद्धालाई टर्चलाइट, छाता, जुस र हातमा सम्मानपत्र थमाएर दोसल्ला ओढाइदिएपछि उनीहरुमा खुसी छाएको थियो ।

श्रेष्ठले राज्यले आफूजस्ता वृद्धाका लागि सम्मान गरेकामा निकै खुसी लागेको बताउनुभयो । “हामीलाई राज्यले सम्मान गर्न बजेटको समेत व्यवस्था गरेको रहेछ,” उहाँले भन्नुभयो – “हामी वृद्धहरुलाई सम्मान गरिएकामा निकै खुसी छौँ ।”

वडा नागरिक मञ्चकी संयोजक लक्ष्मी पौडलेले भन्नुभयो –“आमाबुबा र गुरुले दिएको वचनको सधँै सम्मान गरौँ । युवा पुस्ताले धैरे कुरा उहाँहरुबाट सिक्नुपर्छ ।”

सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई अघि राखेर कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले भन्नुभयो – “ज्येष्ठ नागरिकलाई सरकारले गरेको सम्मान साङ्केतिक मात्र हो । सरकारले ज्येष्ठ नागरिकका लागि आगामी वर्ष सहज जीवनयापन कार्यक्रम ल्याउने छ ।”

कार्यक्रममा तानसेन नगरपालिका–८ भित्रका ६० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सृष्मा गौतमले ज्येष्ठ नागरिक समाजकै लागि प्रेरणाका स्रोत भएको बताउनुभयो ।

प्रतिक्रिया