अपाङ्गता निर्देशिका बन्ने

इनेप्लिज २०७२ जेठ २७ गते ४:०९ मा प्रकाशित

apangaनेपालगन्ज, २७ जेठ । अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा र प्रभावकारिताका लागि नेपालगन्ज उपमहानगरपालिकाले अपाङ्गमैत्री नगर निर्देशिका तर्जुमा गर्न लागेको छ ।

उपमहानगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले नेपालगन्जलाई हरेक क्षेत्रबाट अपाङ्गमैत्री बनाउन निर्देशिका निर्माण गर्न लागिएको बताउनुभयो ।

“नगरभित्रका अपाङ्गता भएकाको माग र आवश्यकताका आधारमा निर्देशिका निर्माणको पहल सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, “अब बन्ने सडक, भौतिक संरचना, सरकारी निकाय सबै क्षेत्रलाई अपाङ्गमैत्री बनाइने छ ।”

नगर निर्देशिकाको स्वरुपबारे जानकारी दिँदै अपाङ्ग अभियन्ता वीरेन्द्रराज पोखरेलले नेपालगन्जबाट सुरु भएको यो अभ्यास सबै नगरपालिकाका लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

यसैबीच, बाँके जिल्लाका यातायात व्यवसायीले अपाङ्गता भएका व्यक्तिलाई यात्राका क्रममा ५० प्रतिशत छुट दिने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

अपाङ्गता भएका व्यक्तिले यातायातमा छुट नपाएको र आरक्षण सिटको पनि व्यवस्था नगरेको व्यापक गुनासो गर्दै आएको पाइएपछि जिल्ला विकास समितिअन्तर्गत गठित अपाङ्ग समन्वय समितिले प्रजिअ वेदप्रसाद लेखकको उपस्थितिमा लिखित प्रतिबद्धता जनाउन लगाएको हो ।

समितिका उपाध्यक्ष प्रियास्मृति ढकालका अनुसार, भेरी यातायात बस व्यवसायी समितिका उपाध्यक्ष शोभाखर पौडेल, नमस्ते नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष नीरज चलाउने, बागेश्वरी यातायात व्यवसायी समितिका कोषाध्यक्ष वीरेन्द्र शाहलगायत अन्य यातायात समितिका पदाधिकारीले लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया