व्यापारी करको दायरामा आउँदै

इनेप्लिज २०७२ जेठ २७ गते ४:०३ मा प्रकाशित

जनकपुरधाम, २७ जेठ । नेपाल सरकारले बढीभन्दा बढी करदातालाई करको दायराभित्र ल्याउने अवधारणा अघि सारेपछि भ्याट नतिर्ने तथा वास्तविक विवरण लुकाउने उद्योगी तथा व्यापारी क्रमिक रुपमा करको दायरामा आउन थालेका छन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका अनुसार उद्यमी तथा व्यापारीमा भ्याट छल्ने, वास्तविक बिक्री विवरण लुकाउने र सम्पत्ति नदेखाउने जस्ता प्रवृत्ति बढ्दै गएपछि कार्यालयले अनुगमन थालेको फलस्वरुप त्यस्ता उद्यमी तथा व्यापारी विस्तारै करको दायरामा आउन थालेको हो ।

प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नौ हजार ६६५ करदाता करको दायराभित्र आइसकेका छन् ।

यसमा आयकरतर्फ तीन हजार ६४४, व्यक्तिगत प्यानतर्फ पाँच हजार ११९, भ्याटतर्फ ९०२ फर्म करको दायरामा आएको प्रमुख न्यौपानेले जनाउनुभएको छ ।

लुकेर बसेका करदाताको पहिचान गरी करको दायरामा ल्याइएपछि सरकारको राजस्वसमेत बढेर गएको छ । कार्यालयले चालु आवको वैशाखसम्म १०४ प्रतिशतले राजस्व असुलीमा वृद्धि गरेको छ ।

गत आवको तुलनामा कार्यालयले चालु आवको वैशाख महिनामा २६ प्रतिशतले राजस्व असुलीमा वृद्धि गरेको दावी प्रमुख न्यौपानेले गर्नुभयो ।

आयकरतर्फ २३ प्रतिशत, बहाल करतर्फ १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ३५ प्रतिशत, अन्तःशुल्कतर्फ २६ प्रतिशत र स्वास्थ्य सेवा शुल्कतर्फ १५३ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले अनुगमनमा विशेष जोड दिई इँटा उद्योग, क्रसर उद्योग, स्वास्थ्य क्लिनिकमाथि राखेको निगरानीको कारण राजस्वमा वृद्धि भएको हो ।

कार्यालयले गत वर्षको वैशाखसम्म रु ८० करोड ५८ लाख २९ हजार राजस्व उठाएको थियो भने चालु आजको सोही अवधिमा रु एक अर्ब एक करोड ५४ लाख ३४ हजार राजस्व उठाउन सफल भएको छ ।

यो तथ्याङ्कलाई हेर्दा यस वर्षको वैशाखसम्म रु २१ करोड बढी राजस्व उठेको छ । सरकारले इँटाभट्टालाई भ्याटको दायरामा ल्याएपछि धनुषा, महोत्तरी र सर्लाहीका प्रायजसो सबै उद्योग करको दायरामा आएको बताइन्छ ।

करदातासँग बक्यौता रहेको रु १४ करोड चालु आवको वैशाखसम्म असुली भएको र करिब रु ६ करोड समायोजन गरिएको कार्यालयले जनायो ।

प्रतिक्रिया