भक्तपुर, २६ जेठ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका ६ वटा नगरपालिकाका भूकम्पपीडितलाई जस्तापाता खरिद गर्न नगरपालिकामार्फत रु १२ करोड वितरण गरेको छ ।
उक्त कार्यालयले आज भक्तपुर नगरपालिकालाई रु चार करोड, मध्यपुर थिमि नगरपालिकालाई रु ५० लाख, सूर्यविनायक नगरपालिकालाई रु एक करोड ५० लाख, अनन्तलिङ्गेश्वर नगरपालिकालकाई रु दुई करोड, महामञ्जुश्री नगरकोट नगरपालिकाकालाई रु दुई करोड र चाँगुनारायण नगरपालिकालाई रु दुई करोड वितरण गरेको हो ।
भक्तपुरका भूकम्पपीडितलाई रु १५ हजारका दरले राहत रकम वितरण गर्न रु २८ करोडको माग भएकामा सरकारबाट रु १४ करोड निकासा भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले थप रकम माग गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई मात्रै अझै रु चार करोड रकम अपुग भएकाले थप रकम स्थानीय प्रशासनसँग माग गरिएको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाले पनि आजदेखि राहत रकम बाँड्न थालेको छ भने जिल्लाका अन्य चारवटा नगरपालिकाले भने पीडितको अन्तिम विवरण प्राप्त नभएकाले रकम वितरण नगरेका जनाइएको छ ।
प्रतिक्रिया