प्रसूति कक्षमा श्ययाको अभाव

इनेप्लिज २०७२ जेठ २४ गते ५:३९ मा प्रकाशित

1372314794doctorधनगढी, २४ जेठ । सेती अञ्चल अस्पताल धनगढीको प्रसूति कक्षमा श्ययाको अभाव भएपछि एउटै श्ययामा दुई सुत्केरी राखेर उपचार गर्नुपरेको छ ।

चर्को गर्मी बढेका बेला एउटै श्ययामा दुई सुत्केरी र शिशु राखेर उपचार गराउँदा आफूहरुको स्वास्थ्य जाँचमा समस्या सिर्जना भएको पीडितले बताएका छन् । सुदूरपश्चिमाञ्चालकै सबैभन्दा सुविधासम्पन्न र ठूलो अस्पतालका रुपमा सेती अञ्चल अस्पताललाई लिने गरिन्छ ।

श्ययाको अभावसँगै आफ्नो शिशु र सुत्केरी पत्नीको समयमै स्वास्थ्य जाँच हुन नसकेको गुनासो अञ्चल अस्पतालमा भेटिनुभएका कञ्चनपुरका जनकराज भट्टले गर्नुभयो । सेवा लिन अस्पताल पुग्ने सुत्केरी र तिनका कुरुवाप्रति कर्मचारीले समेत रुखो व्यवहार गरेको पीडितले बताएका छन् । “ सुत्केरी र शिशुको स्वास्थ्य जाँच पनि समयमै हुँदैन, डाक्टर बोलाइदिन आग्रह गर्दा वार्डका महिला कर्मचारीले रुखो व्यवहार गर्छन्”, डोटीबाट अस्पताल पुग्नुभएका पदमबहादुर बुढामगरले गुनासो सुनाउनुभयो ।

सुत्केरीको चाप बढ्दा ती महिलाको सहज उपचारमा कतिपय समयमा समस्या सिर्जना हुने गरेको अस्पतालका स्वास्थ्यकर्मी स्वीकार गर्छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले यस महिनामा सुत्केरी हुनेको चाप बढेकाले श्ययाको अभाव भएको देखिए पनि उपचारमा कुनै कमी हुन नदिइएको जिकिर गर्नुभयो । अञ्चल अस्पतालको प्रसूति वार्डमा ७३ श्यया छ ।

प्रतिक्रिया