मनकामना केबलकार पुनःसञ्चालन

इनेप्लिज २०७२ जेठ २४ गते ५:३६ मा प्रकाशित

manakamana-kebulkaarचितवन, २४ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आजदेखि सञ्चालनमा आएको छ ।

मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताउनुभयो । मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए ।

भूकम्पको धक्का कम हँुदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो । झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भिड लागेका छन् ।

भूकम्पले मन्दिर एक फि दक्षिण पश्चिम कोल्टिएपछि खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनुभयो । मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ । सोमबार गजुर पूजा गरेर गजुर निकाली मन्दिर भत्काउने कार्य सुरु गरिने पुजारी इन्सान थापा मगरले जानकारी दिनुभयो ।

मन्दिर भत्काएपछि भित्र टिनले बारेर देवीको पूजा गरिने बताइएको छ । मनकामना दर्शन प्रालि, स्थानीय व्यवसायीलगायतले भने बाहिर पूजा गर्न पुजारीसँग आग्रह गर्दै आएका छन् ।
भारतीय भक्तजनसमेत यस याममा दैनिक दुई हजारदेखि दुई हजार ५०० भक्तजन मनकामना केबलकार चढ्ने गरेको कायस्थले बताउनुभयो । एक महिना केबलकार बन्द हुँदा रु पाँच करोडभन्दा बढी नोक्सान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया