एकताको भावनाले विपद्मा राष्ट्र एक भएर उठ्न सक्छ: उपसभापति पौडेल

इनेप्लिज २०७२ जेठ २३ गते १६:०३ मा प्रकाशित

ramchandra-paudelनुवाकोट, २३ जेठ । भूकम्पपछि ध्वस्त सार्वजनिक भौतिक संरचनाको पुनःनिर्माणमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था नुवाकोट जिल्लामा सक्रिय रहेका छन् ।

नेपाली काँग्रेस र नेकपा (एमाले) आज एकैपल्ट नुवाकोटको जिलिङ गाविसमा रहेको कल्याणीदेवी उच्च माविको पुनःनिर्माणमा जुटेका छन् ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली आफ्नो स्वयम्सेवक टोलीसहित कल्याणीदेवी उच्च मावि पुग्नुभएको थियो ।

दुवै पार्टीले एउटै विद्यालय पुनःनिर्माणका लागि छनोट गरेका थिए । एकअर्कासँग समन्वय नभई एउटै विद्यालयमा भेटभए पनि दुवै पार्टीले संयुक्तरुपमा विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणको घोषणा गरे । एमालेका स्वयम्सेवकले असुरक्षित भनिएको भवन भत्काउने काम अघि बढाए भने काँग्रेसका स्वयम्सेवकले विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण थाले ।

एमालेले इञ्जिनियरसहितको ७० जानको टोली र काँग्रेसले रुपन्देहीबाट ४० जनाको कामदार टोली लिएर नुवाकोट आइपुगेको छ । काँग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार नुवाकोटको जिलिङस्थित कल्याणीदेवी उच्चमावि, बट्टारस्थित भीमसेन मावि र चौघडास्थित क्षेत्रपाल उच्चमाविमा अस्थायी कक्षाकोठा निर्माण गर्नेछ ।

विद्यालयको अस्थायी कक्षाकोठा निर्माणको थालनी गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नुवाकोटमा सहयोग गर्न रुपन्देही जिल्लाबाट युवाहरु नुवाकोटमा आउनुले विपत्तिमा सहयोग गर्ने नेपाली संस्कृतिलाई बढावा दिएको बताउँदै आफ्नै स्रोत, साधन र सीपको उपयोग गरेर नवनिर्माणको कामलाई अघि बढाउनुपर्छ भन्नुभयो ।

काँग्रेसले आह्वान गरेको श्रमदानका लागि तराईबाट पहाडमा सहयोग गर्न नागरिक उक्लनुले विपद्मा राष्ट्र एक भएर काम गर्न सक्छ भन्ने सन्देश दिएको र अरुको मुख ताकेर होइन श्रम गर्ने संस्कृतिको विकास गरेर नेपाली एक जुट भएर यो भूकम्पबाट उब्जेको विपत्तिलाई सामना गर्नुपर्ने उपसभापति पौडेलले बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भूकम्पबाट आतङ्कित भएर बस्नुभन्दा पनि अब भूकम्पबाट नोक्सान नहुने सामग्रीको प्रयोग गरेर भौतिक संरचना बनाउनु आवश्यक छ भन्नुभयो ।

विद्यालयजस्ता सार्वजनिक भौतिक संरचना निर्माण गर्दा अब जमिनको परीक्षणपछि मात्रै कुन प्रकृतिका भवन तयार गर्ने भन्ने पहिचान गर्नु आवश्यक रहेको र अहिले अस्थायीरुपमा कक्षा सञ्चालनका लागि काँग्रेस भवन बनाउदै देशब्यापी रुपमा हिँडेको खाँडले बताउनुभयो ।

काँग्रेस नुवाकोटका सभापति एवम् सभासद् जगदीश्वरनरसिंह केसीले आफू महासचिव रहेको भगवानसिंह यशोदादेवी केसी मेमोरियल ट्रष्टका तर्फबाट नुवाकोटका ३० वटा विद्यालयलाई रु ५०/५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । त्यसमध्ये जिलिङको कल्याणीदेवी उच्च मावि पनि एक रहेको उहाँले बताउनुभयो ।

काँग्रेस रुपन्देहीका सभापति अब्दुल रजतले एक नेपालीको दुःखमा आफू पनि सहभागी हुन पहाड उक्लिएको बताउनुभयो ।

विद्यालयको भग्नावशेष हटाउन र कक्षाकोठा निर्माणका लागि नेकपा (एमाले)का केन्द्रीय स्वयम्सेवक परिचाल समितिका सदस्य एवम् एमाले बाग्मती अध्यक्ष श्याम बस्नेतले दुवै पार्टीले एउटै विद्यालय निर्माणका लागि रोजेको भएपछि काम एकापसमा बाँडेर गर्ने बताउनुभयो ।

निर्माणको कार्य काँग्रेस र एमाले एक्लै–एक्लैले गर्नुभन्दा संयुक्तरुपमा गर्दा सन्देश पनि सकारात्मक हुने भएकाले आफूहरुले कार्य विभाजन गरेको बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया