भूकम्पपीडितलाई वर्षात् अघि नै पुनर्बासको व्यवस्था: मन्त्री निधि

इनेप्लिज २०७२ जेठ २३ गते १६:०१ मा प्रकाशित

bimalendra-nidhiकाठमाडौँ, २३ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भूकम्पपीडितलाई वर्षात् अगाडि नै पुनर्बासको व्यवस्था गरिसक्ने आश्वासन दिनुभएको छ ।

सरकारले यसअघि भूकम्पपीडितको पुनर्बासका लागि रु दुई अर्बको अक्षयकोष स्थापना गर्ने निर्णय गरिसकेको छ भने आगामी असार १० गते पीडितकै पुनर्बासका लागि आर्थिक सहायता जुटाउने उद्देश्यबाट दातृ निकायको राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।

मन्त्री निधि नेपाल प्रेस युनियन बाग्मती क्षेत्रअन्तर्गतका जिल्ला र प्रतिष्ठान शाखाका अध्यक्षहरूको भेलालाई आज धुलिखेलमा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनका कारण हजारौँ मान्छेको मृत्यु तथा लाखौँ मानिस घरबारविहीन भएका छन् । नेपालमा मनसुनी वर्षात्को प्रारम्भ केही सातापछि नै हुने भएको मौसमविद्ले जानकारी दिँदै आएका छन् ।

सरकारले यसअघि भूकम्पपीडितलाई प्रतिघर नगद रु १५ हजार वितरण गर्दै आएको छ । विनाशकारी भूकम्पका कारण १४ जिल्ला प्रभावित छन् ।

आजै, मन्त्री निधिले बाग्मती अञ्चलका आठ र रामेछाप र दोलखा गरी कुल १० जिल्ला एवम् बाग्मती क्षेत्रअन्तर्गत प्रेस युनियनका नौ प्रतिष्ठान शाखालाई रु सात हजार ५०० का दरले कुल रु एक लाख ४२ हजार ५०० नगद जिल्ला शाखा र प्रतिष्ठान शाखा सभापतिहरूलाई जिल्ला दैवी विपत्ति कोष स्थापना गर्नु भनी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन श्रमजीवी पत्रकारको संस्था भएको बताउनुभयो ।

प्रतिक्रिया