प्रहरी अधिकृतको क्षेत्रीय सम्मेलन सम्पन्न

इनेप्लिज २०७२ जेठ २३ गते १५:२५ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । भूकम्पपछि उत्पन्न विपद् व्यवस्थापनमा नेपाल प्रहरीबाट राहत, उद्धार र पुनःस्थापनामा भएका कामकारबाही, प्राप्त उपलब्धि एवम् चुनौतीको समीक्षा गर्न उच्च प्रहरी अधिकृतहरूको क्षेत्रीय सम्मेलन प्रहरी प्रधान कार्यालयमा आज सम्पन्न भयो ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विपद्का बेला खोज तथा उद्धारमा नेपाल प्रहरीले आफ्नो प्रतिबद्धता र लगनशीलता देखाई समुदायको मन जितेकोले त्यसलाई कायम राख्न अहिलेको अवस्थामा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

महाविपत्तिमा सीमित साधनस्रोतबाट साहस र धैर्यकासाथ प्रदर्शित भूमिका एवम् समुदायमा दिन सकेको सुरक्षा र सहयोगका कारण समाजले गरेको विश्वास उत्साहप्रद रहेको थियो ।
सम्मेलनमा क्षेत्रीय प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा भएका क्षतिको अवस्था, विपद् व्यवस्थापनमा गरिएका गतिविधि, भोग्नुपरेका समस्या र चुनौती एवम् शान्ति सुरक्षा, अपराध अनुसन्धानलगायत क्षेत्रगत विवरण प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा प्रहरी प्रधान कार्यालयका सबै बिभागीय प्रमुखहरु, महानगरीय प्रहरी कार्यालयका प्रमुख, पाँचवटै क्षेत्रका प्रमुख,प्रहरी नायव महानिरीक्षक तहका उच्च प्रहरी अधिकृतको सहभागिता थियो ।

प्रतिक्रिया