भूकम्पपछि प्रकाशित हुन सकेनन् दोलखाका पत्रपत्रिका

इनेप्लिज २०७२ जेठ २३ गते ४:४८ मा प्रकाशित

Dolkha_district_locationचरिकोट, २३ जेठ । गत वैशाख १२ गते आएको भूकम्पका कारण स्थानीय पत्रपत्रिकाको कार्यालयमा क्षति पुग्दा यहाँबाट प्रकाशन हुँदै आएको पत्रपत्रिका एक महिनाभन्दा बढी समय बित्दासमेत प्रकाशन हुन सकेका छैनन् ।

जिल्लामा निरन्तर प्रकाशन हुने साप्ताहिक पत्रपत्रिकालाई कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग नहुनु र भूकम्पपछि आफ्नो आर्थिक अवस्था साथै पत्रिका प्रकाशन प्रयोग हुने सामग्री कम्प्युटर प्रिन्टरलगायतका सामग्री क्षतिग्रस्त हुँदा प्रकाशनमा समस्या भएको नवतरङ्ग साप्ताहिक पत्रिकाका प्रकाशक राजनबहादुर शिवाकोटीले जानकारी दिनुभयो ।

जिल्लामा पाँच साप्ताहिक पत्रिका प्रकाशन भएपनि अहिलेको भूकम्पपछि कुनै पत्रिका पनि प्रकाशन हुन सकेका छैनन् ।

जिल्लामा ३५ वटा पत्रिका दर्ता भए पनि निरन्तररुपमा प्रकाशन हुनेमा नवतरङ्ग साप्ताहिक, भिमेश्वर साप्ताहिक, शैलुङकोसूर्य साप्ताहिक, कालिन्चोक सन्देश साप्ताहिक र अर्थान्तर साप्ताहिक रहेका छन् ।

समाजको अवस्थाका लेखाजोखा र खबरदारी गर्ने पत्रपत्रिका बन्द रहनु राम्रो पक्ष नभएको र आफूले प्रकाशनको लागि पहल गरिरहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले बताउनुभयो ।

भूकम्पको कारण स्थानीय चारवटा रेडियो केही दिन बन्द रहे पनि हाल त्रिपालमुनिबाट प्रसारण भइरहेका छन् । केही रेडियोको अवस्था पनि दयनीय रहेको बताइएको छ ।

प्रतिक्रिया