दरबन्दी मिलानसँगै इलामका चौध प्रावि बन्द

इनेप्लिज २०७२ जेठ २२ गते ४:०२ मा प्रकाशित

ilam_nepal_mapइलाम, २२ जेठ । जिल्ला शिक्षा कार्यालय इलामले दरबन्दी मिलानको प्रक्रिया सँगसँगै विद्यालय गाभ्ने अभियानसमेत सुरु गरेको छ ।

पन्ध्र वर्षदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना पारित भएसँगै प्रक्रिया अघि बढेको हो । जिशिका सम्वाद समितिको सहयोग र शिक्षा समितिले प्रावि, निमावि, मावि सञ्चालित तर विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी कायम गरेको छ ।

आधारभूत तह (कक्षा १–८) लाई आधार मानेर कक्षा ५ सम्म तीन र त्यसमाथि कक्षा ८ सम्म चार शिक्षक दरबन्दी कायम गरिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो । दरबन्दी मिलान प्रक्रिया अघि बढेपछि २०५७ सालदेखि रोकिएका दरबन्दी मिलान कार्य अब अघि बढेको हो ।

निमावि र मावि तहमा १० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन तथा बन्द गर्ने, १३ जनाभन्दा कम विद्यार्थी भएको प्राविलाई भौगोलिक विकटताको बहुकक्षा विद्यालय कायम गरिने नीति लिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

दरबन्दी मिलान प्रक्रियाले लामो समयदेखि दरबन्दी पाउन नसकेका तथा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने मावि, उमाविलाई दरबन्दी उपलब्ध गराएर प्रोत्साहन गरेको छ ।

दरबन्दी मिलानसँगै बन्द हुने अवस्थामा रहेका एकदर्जनभन्दा बढी प्राथमिक विद्यालयलाई बन्द गरिएको छ ।
सिंहदेवी प्रावि गोर्खे, माईपोखरी सत्यधुनी वेदपाठशाला, सरस्वती प्रावि तालगाउँ सुलुबुङ, जनता प्रावि मावु, लालीगुराँस प्रावि माइमझुवा, साङरूम्वाका युवा प्रावि, विजुवाडाँडा प्रावि र दुर्गा प्रावि, खारखोला प्रावि जिर्मले र अरनिको प्रावि साँखेजुङलाई बन्द गरिएको हो ।

यसैगरी बिक्री प्रावि सुम्वेक, चन्द्रोदय प्रावि सोयाङ, भानुभक्त प्रावि गजुरमुखी र कृष्णज्योति प्रावि बाँझोलाई बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी गौतमले बताउनुभयो ।

विद्यार्थी न्यूनको कारणले ती विद्यालय बन्द गर्नुपरेको जिशिअ गौतमले बताउनुभयो । बन्द गरिएका विद्यालयमा कार्यरत शिक्षकहरूलाई नजिकैको विद्यालयमा सरुवा गरिएको जिशिकाले जनाएको छ ।

प्रतिक्रिया