आफूले पढाएको विद्यालयलाई पाँच लाख सहयोग

इनेप्लिज २०७२ जेठ २१ गते १:२३ मा प्रकाशित

बलेवा (बागलुङ), २१ जेठ । लेखानी उमाविका एक पूर्व शिक्षकले विद्यालयको अक्षयकोषका लागि सहयोग गरेको छ ।

पूर्व शिक्षक लालकुमार प्रधानले अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको हो ।

यसअघि रु दुई लाख एक हजार सहयोग गरिसकेका प्रधानले ‘लेखानी उमावि अक्षयकोष’ मा रु तीन लाख तीन हजार ३०३ थप गरी रु पाँच लाख पु¥याउनुभएको हो ।

उक्त कोषबाट एसएलसीमा उत्कृष्ठ अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कार दिने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना बनाएको प्राचार्य खिमानन्द कँडेलले जानकारी दिनुभयो ।

प्रधानले आमा धनकुमारी र बाबु दलबहादुरको स्मृतिमा उक्त रकम सहयोग गरेको बताउनुभयो ।
उहाँले दुई वर्षअघि अस्ट्रेलियामा कार्यरत तीन छोरा तथा साथीहरुको सहयोगमा रु पाँच लाख बराबरका १० थान कम्प्युटर र विद्युतीय उपकरण पनि हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि पनि प्रधानले रु दुई लाख एक हजार भवन निर्माणका लागि सहयोग गर्नुभएको प्राचार्य कँडेलले बताउनुभयो ।

यसैबीच उक्त विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि अन्य सहयोग जुटाउने अभियान पनि थालेको छ । फेसबुकबाट थालिएको अभियानमा अहिलेसम्म रु १६ लाख सङ्कलन भइसकेको जानकारी कँडेलले दिनुभयो ।

विद्यालय निरीक्षक विदुर शर्माले विद्यालयको गुणस्तर विकासका लागि गरिएको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया