नेपाली सेनाद्वारा भूकम्पपीडित बिरामीको उपचार एवम् राहत वितरण

इनेप्लिज २०७२ जेठ २० गते ५:३२ मा प्रकाशित

Rss_Images_1433253873544_RG -BKT- Nepali Sena Siber Photo -19भक्तपुर, २० जेठ । नेपाली सेनाले भूकम्पपीडितका लागि भक्तपुरको चाँगुनारायण र आशापुरीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८९२ जनाको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ ।

मङ्गलबार आयोजना गरेको शिविरमा नेपाली सेनाका सात चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित १७ जनाको टोलीले सेवा पुर्‍याएको नेपाली सैनिक प्रतिष्ठान खरिपाटीका कर्नेल रामहरि केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा महिला बिरामीको अत्यधिक उपस्थिति रहेको बताउँदै उहाँले शिविरमा आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरेको जानकारी दिनुभयो ।

शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, सर्जिकल, नाक, कान, घाँटी, आँखा, दाँत, स्त्री रोग, प्रसूति, बालरोग, साइकोथेरापी, ल्याबरोटोरी सेवा सञ्चालन गर्नुका साथै उपचारसमेत गरिएको थियो ।

सैनिक प्रतिष्ठानसहित ज्वाला दल गण, सैनिक समाचार शिक्षालय, विद्युत् तथा यान्त्रिक शिक्षालय, उपत्यका पृतना हवाई सुरक्षा ब्याट्रीसहितको संयोजनमा गरिएको शिविरमा ज्येष्ठ नागरिक र अपाङ्ग भएका बिरामीलाई घरसम्मै लाने र लैजाने व्यवस्थासमेत गरिएको थियो ।

सोही कार्यक्रममा सैनिक श्रीमती सङ्घले भक्तपुरस्थित चाँगुनारायणका २०० भूकम्पपीडित परिवारका लागि अत्यावश्यकीय राहत सामग्रीसमेत वितरण गरेको छ । सङ्घले टेन्ट, म्याट, प्रेसरकुकरका साथै अन्य खाद्य सामग्री वितरण गरेको सङ्घको अध्यक्ष रोहिणी राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया