दुर्छिमवासीले आफ्नै लगानीमा निर्माण गरे १२ किलोमिटर सडक

इनेप्लिज २०७२ जेठ १९ गते १:०३ मा प्रकाशित

खोटाङ, १९ जेठ । ‘आफ्नो गाउँ, आफैं बनाऊँ’ भन्ने उक्तिलाई खोटाङको दुर्छिमवासीले व्यवहारमा उतारेका छन् ।

उनीहरुको आफ्नै लगानीमा छापडाँडा ‘दलश्वर राई’ चोकदेखि उदयपुरको बलम्तासँग जोडिने बतासेघाटसम्मको १२.१ किलोमिटर सडक निर्माण गरेर यातायातका सवारीसाधन सञ्चालनमा ल्याएपछि खुसियालीसमेत मनाएका छन् ।

गाविसको स्रोतबाट सर्भेक्षण गरिएको उक्त रुटको सडक निर्माणमा राज्यको सहयोग नभएपछि स्थानीयवासीले आफ्नै लगानीमा निर्माण गरेका हुन् । रु ५८ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त सडकको नाम ‘होलेसुङ–जनराज राई मार्ग’ राखिएको छ । विसं २०६८ मा काठमाडौँमा रहेका अग्रजको एक भेलाले आर्थिक सङ्कलन अभियान थाल्ने निर्णय गरी २०६९ सालमा शिलान्यास गरेको सडक करिब दुई वर्षकै अवधिमा सम्पन्न गरिएको सडक निर्माणका अगुवा जनकराज राईले जानकारी दिनुभयो ।

राईका अनुसार आ–आफ्ना गच्छेअनुसारको आर्थिक लगानी र मनैदेखिको श्रम तथा इच्छा शक्तिले विकट भौगोलिक अवस्थामा पनि सडक निर्माण गर्न सफल भएको हो । सडक निर्माण सम्पन्न गर्न स्थानीयवासीको श्रमसहितको आर्थिक लगानीले गुणस्तरीय ट्र्याक खुलाउन सफल भएको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यतिसम्मका काम सम्पन्न ग¥यौँ, अब राज्यका तर्फबाट स्तरोन्नति र निरन्तरताको पहल गरियोस् ।”

सडकका लागि रु १६ लाख प्रदान गर्नुभएका राईले आफ्नै पहलमा रु ३० लाख जुटाइ दिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सोचेका पनि थिएनौँ तर उहाँको अथक प्रयास र आर्थिक सहयोगले अन्ततः सफल भइयो ।”

यो सडक जिल्लाकै सबैभन्दा महत्वपूर्ण सडक भएको सडक निर्माण अभियानमा जुट्नुभएका स्थानीय बुद्धिजीवी भोगिराज चाम्लिङको दाबी छ । उहाँले भन्नुभयो, “यो सडकले दुर्छिमवासीका लागि मात्र नभई उदयपुर र सोलुखुम्बुवासीलाई समेत प्रत्यक्ष लाभ पुगेको छ, सुनकोसी नदीमा पक्की पुल निर्माण गर्न सके सगरमाथा पुग्ने सबैभन्दा छोटो दूरीको सडक यही नै हुने छ ।”

सडक बनेपछि त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्नसमेत सहज भएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त सडक सञ्चालनमा आएपछि हलेसीमा दर्शनार्थीको सङ्ख्या बढेको छ, यसलाई पूर्णरुपमा उपयोगी सडक बनाउन पक्की पुलको आवश्यकता छ ।” आर्थिक सहयोग सङ्कलनबाट निर्माण गरिएको उक्त सडकको विभिन्न चोकको नामकरणसमेत सहयोगदाताको नामबाट गरिएको छ । उक्त सडक बाह«ै महिना सञ्चालनमा आउने उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया