म्याग्दी, १६ जेठ । म्याग्दीको राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले जेठ १० गतेदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै सुचारु भएको छैन । पहिरोले बैसरी बस्तीसँगै करिब एक किलोमिटर सडक पुरेको छ ।
पहिरोले थुनिएर कालीगण्डकी नदीमा बनेको कृत्रिम तलाउको कारण सडक खुलाउन नसकिएको सडक विभागले जनाएको छ । पहिरोले अवरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउन करिब तीन साता लाग्ने सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सडक विभाग र नेपाली सेनाको इञ्जिनियरको टोलीले दुई दिनसम्म गरेको विस्तृत अध्ययनअनुसार करिब एक किलोमिटर सडकमा नयाँ ट्रयाक खोल्नुपर्ने देखिएको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । सडक खुलाउन आवश्यक पर्ने सबै उपकरण सम्बन्धित स्थानमा पुर्याएको र तालको पानी घटेलगत्तै काम सुरु हुने डिभिजन कार्यालयले जनाएको छ । साविकको सडकभन्दा धेरै माथिबाट नयाँ ट्रयाक खोल्नुपर्ने प्राविधिकको भनाइ छ ।
प्रतिक्रिया