इलाममा सीपमूलक प्रणालीद्वारा साक्षरता शिक्षा कार्यक्रम सुरु

इनेप्लिज २०७२ जेठ १६ गते ७:०२ मा प्रकाशित

ilam_nepal_mapइलाम, १६ जेठ । इलाम जिल्लाका २१ वटा गाविसमा अनौपचारिक शिक्षा कार्यक्रम सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मापदण्ड मूल्याङ्कनअनुसार कम्तीमा निरक्षर व्यक्तिले राष्ट्र भाषा वा मातृ भाषाका वर्ण अक्षर पढ्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रोको तिथिमिति बताउन सक्ने, शून्यदेखि १० सम्म लेख्न सक्नेलगायतका १२ वटा सूचक पूरा गरिसकेका व्यक्तिलाई यस पटक सीपमूलक प्रणालीद्वारा साक्षर बनाउने उद्देश्यले २१ वटा गाविसमा कार्यक्रम सुरु गरिएको हो ।

सीपमूलक कार्यक्रम जिल्लाको देउमाई नगरपालिकाको मङ्गलबारे, फुएतप्पा, एकातप्पा, साङरुम्बा, शान्तिडाँडा, सोयाक, जीतपुर, चकैता, सुलुबुङ, बरवोटे, गोदक, नामसालिङ, जीतपुर, इरौटार, दानावारी, शान्तिपुर, चुलाचुली, महमाई, इभाङ, बाँझो र श्रीअन्तु गाविसमा सुरु गरिएको अनौपचारिक शिक्षा कार्यक्रम इलामका शाखा प्रमुख द्रोण पोखरेलले बताउनुभयो ।

ती गाविसका सम्बन्धित सामुदायिक अध्ययन केन्द्रमार्फत कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । तीन महिनासम्म सञ्चालन गरिने कार्यक्रममा १५ देखि ६० वर्ष उमेरका व्यक्तिलाई सीपमूलक सिकाइ लागू गरिने छ ।

कम्तीमा एउटा कक्षा बराबर २० जनालाई समावेश गरिएको छ । उक्त साक्षरता शिक्षा कार्यक्रममा २१ गाविसका पाँच हजार १० जनालाई सिकाइने छ । उनीहरुलाई आवश्यकअनुसारको पाठ्यपुस्तक कापी, कलम उपलब्ध गराइएको समेत पोखरेलले बताउनुभयो ।

यस प्रकारको साक्षरता शिक्षा बाँकी गाविसमा अर्को वर्ष क्रमशः सञ्चालन गरिँदै जाने शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया