भूकम्पपीडितका लागि रक्तदान: कर्माचार्यको १४१ औँ पटक रक्तदान

इनेप्लिज २०७२ जेठ १६ गते १:२६ मा प्रकाशित

20-donating-bloodकाठमाडौँ, १६ जेठ । नेपालमा आएको विनाशकारी भूकम्पपछि रगतको अभाव हुन नदिन थपलिया समाज नेपालले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन गरिएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४१औँ पटक रक्तदान गर्दै अहिले रगतको माग अत्यधिक भई आपूर्ति हुन नसकेकाले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

थपलिया समाज नेपालका अध्यक्ष वीरेन्द्र थपलियाले भूकम्पपछि घाइते तथा अस्पतालमा उपचाररत बिरामीलाई रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रमबाट रगत सङ्कलनमा सहयोग पुगेको बताउनुभयो ।

रक्तदान कार्यक्रममा नेकपा (माले)का पोलिटब्युरो सदस्य दीनानाथ घिमिरेले ६७ पटक तथा समाजसेवी हरिप्रसाद थपलियाले ३५ पटक रक्तदान गर्नुभएको जानकारी थपलिया समाजका सदस्य रवीन थपलियाले दिनुभयो ।

प्रतिक्रिया