सबै दलको सहभागितामा बलियो राष्ट्रिय सरकार आवश्यक: महामन्त्री गुरुङ

इनेप्लिज २०७२ जेठ १५ गते १६:१२ मा प्रकाशित

chandra-bahadur-gurungकाठमाडौँ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का महामन्त्री चन्द्रबहादुर गुरुङले भूकम्पपछि उत्पन्न भएको विपत्तिलाई व्यवस्थापन गर्न सबै दलको सहभागितामा बलियो राष्ट्रिय सरकार अहिले जनताले खोजेको बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको समीक्षा बैठकमा महामन्त्री गुरुङले भूकम्पपीडितलाई राहत वितरण तथा राष्ट्रको पुनःनिर्माणमा त्यस्तो राष्ट्रिय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नयाँ राष्ट्रिय सरकारले भूकम्पका कारण संविधान निर्माणमा ढिलाइ गर्न नहुने बताउनुुभयो ।

उहाँले अब मनसुनको समय नजिकिँदै गएकाले बाढीपहिरोलाई रोक्न विशेष योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै भूकम्पपछि उत्पन्न भएको प्रकोपबाट आहत भएका जनतालाई कसरी दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ, त्यसतर्फ सरकार केन्द्रित हुन नसकेको आरोप लगाउनुभयो ।

यसैबीच, सो पार्टीले यही जेठ १७ गते बनकालीमा आयोजना गर्न लागेको ‘भूकम्प शान्ति महायज्ञ’का लागि विभिन्न समिति गठन गरी संयोजक तोकेको छ ।

भूकम्पमा परी मृत्यु भएकाको आत्माको चिरशान्तिका लागि गर्न लागिएको सो महायज्ञको स्वागत समितिको संयोजकमा कुन्ती शाही, प्रचारप्रसार समितिमा रवि चाम्लिङ, पूजा व्यवस्थापन समितिमा तारानाथ लुइँटेल, आर्थिक व्यवस्थापन समितिमा उद्धव पौडेल, भजन तथा सङ्गीत व्यवस्थापन समितिमा मीरा राणा र स्वयम्सेवक परिचालन समितिमा भरत रायमाझी हुनुहुन्छ ।

उक्त महायज्ञमा श्रीमद्भागवत, वेद, लघु रुद्री, चण्डी पाठ, नवग्रह पूजन, सवा लाख महामृत्युञ्जय मन्त्रपाठ गरिनेछ । त्यस्तै, दुई करोड ६५ लाख दीप प्रज्वलन तथा हवन गरिनेछ भने १०८ ब्राह्मण तथा सोही सङ्ख्यामा बौद्ध तथा किरात धर्मगुरुले अनुष्ठान गर्नेछन् ।

प्रतिक्रिया