गोरखामा जस्तापाता किन्न पन्ध्र हजार वितरण

इनेप्लिज २०७२ जेठ १५ गते १६:०३ मा प्रकाशित

Nepal Earthquakeगोरखाबजार, १५ जेठ । गोरखाका विभिन्न गाविसका भूकम्पपीडितलाई जस्तापाता किन्न रु पन्ध्र हजारका दरले रकम वितरण गरिएको छ ।

पहिलो चरणमा छोप्राक, बक्राङ, सिम्जुङ र आरुपोखरीका भूकम्पपीडितले टहरो छाउने जस्तापाता खरिद प्रयोजनका लागि सो रकम पाएका हुन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले गाविस सचिवको नेतृत्वमा रकम बाँड्न गाउँ–गाउँमा टोली खटाएको थियो । गाविस सचिव र अनुदान रकमको सुरक्षाका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।

अनुगमन टोलीले प्रतिवेदन बुझाएको चार गाविसमा पहिलो चरणमा जस्तापाता किन्न अनुदान रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो ।

“भत्केका कच्ची घर हुने घरधनीले रु १५ हजार पाउँछन्”– प्रजिअ तिमल्सेनाले भन्नुभयो, “एउटै व्यक्तिको नाउँमा एकभन्दा धेरै घर क्षति भएपनि १५ हजारमात्रै वितरण गर्ने निर्णय गरेका छौं ।”

भूकम्पबाट आंशिक तथा सामान्य क्षति भएका घरधनीले अनुदान रकम पाउने छैनन् ।

परिचयपत्रका आधारमा रकम वितरणको तयारी

यसैबीच, गाविस सचिवहरुले परिचय पत्र वितरण गर्ने र त्यसको आधारमा अनुदान रकम दिने तयारी गरेका छन् । छोप्राक गाविसका सचिव जनार्दन पोखरेलकाअनुसार एक हजार ७२२ घरधुरीलाई रु १५ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

करिब एक साताभित्र सबै घरधनीलाई अनुदान रकम वितरण गरिसक्ने पनि उहाँले बताउनुभयो ।

यसअघि जस्तापाता वा नगद पाएका भूकम्पपीडितलाई सरकारी अनुदान नदिने समितिले तयारी गरेको छ । स्वयम् भूकम्पपीडितलाई सोधेर कुनै सङ्घसंस्थाबाट सहयोग पाएको भए दोहो¥याएर अनुदान रकम नदिन गाविस सचिवलाई निर्देशन दिइएको छ ।

भूकम्पबाट गोरखाका ६० गाविस र दुई नगरपालिकामा गरी ५८ हजार घर ध्वस्त भएका छन् ।

प्रतिक्रिया