सुत्केरी र किशोरीलाई सहयोग

इनेप्लिज २०७२ जेठ १५ गते ४:३९ मा प्रकाशित

त्रिशूली (नुवाकोट), १५ जेठ । महिला मानव अधिकार रक्षक र ओरेक नेपालको सहयोगमा नुवाकोट जिल्लाका विभिन्न स्थानमा सुत्केरी र किशोरीलाई विभिन्न सामग्री वितरण गरिएको छ ।

विनाशकारी भूकम्पले प्रभावित भएका सुत्केरी, गर्भवती र किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्शसहित खाद्यान्न, पौष्टिक आहार, लत्ताकपडालगायतका सामग्री वितरण गरिएको हो ।

गत वैशाख १७ गतेबाट हालसम्म जिल्लाका एक दर्जनभन्दा बढी गाविसका ८० जना सुत्केरीलाई सुत्केरी किट, दुईसय किशोरीलाई किशोरी किटलगायत चामल, दाल, नुन तेल गरी दुईसय थान सामग्री वितरण गरिएको महिला मानवअधिकार रक्षक सञ्जाल नुवाकोटकी कोषाध्यक्ष सविना रिमालले जानकारी दिनुभयो ।

तीन महिनासम्मका बालबालिकालाई आवश्यक पोष्टिक तत्वलगायत ८० थान लत्ताकपडा वितरण गरिनुका साथै नाजुक अवस्थाका अपाङ्ग र वृद्धवृद्धालार्ई समेत त्रिपाल तथा खाद्यान्न वितरण गरिएको छ । जिल्लाको तुप्चे, मनकामना, गेर्खु, खानिगाउँ, चारघरे, रातमाटे, त्रिशूली, कोलोनीलगायत स्थानमा रहेका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारसमेत खुवाउँदै आएको संस्थाले जनाएको छ ।

यसबाहेक संस्थाले रसुवाको हाकुबाट भूकम्पका कारण विस्थापित भएर वेत्रावती र सुन्दरबजारमा गरी पाँचवटा शिविरमा बसोबास गरिरहेका सयौँ पीडितलाई मनोपरामर्शसमेत दिँदै आएको छ ।

प्रतिक्रिया