रातुमा बाढी आएर यातायातमा समस्या

इनेप्लिज २०७२ जेठ १४ गते ४:४४ मा प्रकाशित

uzzfFesx28140825123341गौशाला, १४ जेठ । पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको रातु नदीमा बाढी आएपछि गएरातिदेखि यातायातमा समस्या आएको छ ।

एक वर्ष पहिले रातु नदीको पुल भाँसिएपछि नदीबाटै वैकल्पिक (डाइभर्सन) बनाएर गाडी चल्दै आएकामा गएराति ३ बजे एक्कासि सो नदीमा आएको बाढीले यातायातमा समस्या भएको हो ।

करिब १०० मिटर लामो सो वैकल्पिकमा गाडी फस्न सक्ने भयका कारण भारी बोकेका यातायातका साधन नदीको बाटो जान सकेका छैनन् भने यात्रुबाहक बस, जिपलगायतका साधन एक पटकमा एउटा मात्रै आवतजावत गर्ने गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सो नदीमा दुवैतर्फबाट एकैचोटी यातायातका साधन पठाइयो भन्ने फसेर बगाउन सक्ने डर भएको भन्दै त्यहाँ रातिदेखि प्रहरी खटाएको छ भने एक पटकमा एउटा सवारीसाधन मात्रै पठाइने गरेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

रातु नदीमा आएको बाढीको कारण दुवैतिर भारी बोकेका दर्जनौँ मालबाहक ट्रक, टिपर, जिप, ट्याक्टरजस्ता साधन गन्तव्यमा जान नसकी रोखी राखिएका छन् ।

गत वर्ष साउनको २८ गते रातुमा आएको भिषण बाढीका कारण सो पुल भाँसिएपछि वैकल्पिक भएर गाडी सञ्चालन हुँदै आएको थियो भने रातुमा आउने गरेको बाढीका कारण महोत्तरीका लोकमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया