शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आगलागी, व्यापक क्षति

इनेप्लिज २०७२ जेठ १४ गते ४:३८ मा प्रकाशित

fireकञ्चनपुर, १४ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी हुँदा व्यापक क्षति भएको छ । आरक्षको १५ किलोमिटरको दायरामा आगलागी भएको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार आरक्षको पलियाँ, मालुवेला, वर्कौला, मझगाउँ, चाँदमारी, बाबा तालको उत्तरतर्फको क्षेत्रमा तीन दिनदेखि व्यापक आगलागी भइरहेको छ ।

आगो निभाउनका लागि आरक्ष कार्यालयका १५ जना कर्मचारी र नेपाली सेनाका ७० जवान परिचालन गरिए पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

घाँसे मैदान पूरै आगलागीका कारण जले पछिसंरक्षित जनावरसमेत प्रभावित भएका छन् । “संरक्षित जनावरमा नोक्सानी पुगेको खबर आएको छैन” अधिकृत ढकालले भन्नुभयो, “आरक्षको कोर एरियामै भिषण आगलागी भएकाले निभाउनका लागि हम्मेहम्मे परिरहेको छ ।”

आरक्षको वरिपरिका बासिन्दाले आरक्षमा आगो लगाएमा नयाँ घाँस उम्रिने र च्याउ पाउने भन्दै ठाउँठाउँमा आगो लगाउन थालेकाले नियन्त्रण गर्न गाह्रो छ उहाँले भन्नुभयो, “एक ठाउँको आगो नियन्त्रणमा लिन्छौँ अर्को ठाउँमा आगो लगाई दिने गरेका छन् ।”

जेठ महिनामा मात्रै आरक्षमा १५ पटक आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागीका कारण जनावर एक ठाउँबाट अर्को ठाउँमा भाग्ने क्रम जारी रहेकाले चोरी सिकारी बढ्न सक्ने भएकाले वन रक्षकलाई यसबारे चनाखो बनाएको आरक्ष कार्यालयले जनाएको छ ।

आगलागीका कारण पुगेको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया