हावाहुरी कारण पाँच दिनदेखि विद्युत् अवरुद्ध

इनेप्लिज २०७२ जेठ १४ गते ४:१५ मा प्रकाशित

bijuli-ko-khamba21-1024x683खोटाङ, १४ जेठ । हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ ।

शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्युत् अवरुद्ध भएसँगै जिल्ला अस्तव्यस्त बनेको छ ।

यसको प्रत्यक्ष प्रभाव सञ्चारमाध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारणलगायतमा परेको छ । सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएपछि जिल्ला सञ्चारविहीन भएको छ ।

केहीले घन्टाको रु २० तिरेर मोबाइल चार्ज गराउने गरेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को मूल्य तिरेर फोटो खिचाउने गरेका छन् ।

जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीको भएका कारण पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको विद्युत् प्राधिकरण खोटाङका प्रमुख पुरुषोत्तम रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय प्रसारण लाइनअन्तर्गत ढलेका पोल फेर्ने काम सकिन लागेको छ, सम्भवतः चाँडै नै विद्युत् सञ्चालनमा ल्याउने तयारीमा छौँ ।”

हावाहुरीका कारण जिल्लामा भौतिक क्षति अत्यधिक मात्रामा भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरीमा रहेको स्काइ तथा नमस्ते मोबाइलको टावरसमेत ढलेको छ ।

टावर ढलेपछि दक्षिणी क्षेत्रमा पर्ने २२ भन्दा बढी गाविसका सर्वसाधारण टेलिफोन सेवाबाट वञ्चित भएका छन् । शनिबार करिब ८ बजे चलेको हावाहुरीका कारण दिप्लुङ–५ का कपिलराज राईको घर जलेको छ ।

हावाहुरीले पु¥याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीका कारण जिल्लामा विद्युत् र टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण आउन सकिरहेको छैन, असिनाले पनि अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ भन्ने आएको छ ।”

हावाहुरीले जिल्लाका सयौँ घर तथा गोठमा क्षति पुगेको छ । पानीसँगै परेको असिनाले मकै, आलु, फलफूललगायतमा ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया