गाईघाट (उदयपुर), १३ जेठ । लगातारको हावाहुरीबाट उदयपुरमा करोडौँको क्षति भएको छ ।
शनिबारदेखि लगातार आइरहेको हावाहुरीबाट करिब ३५० घर र १२ विद्यालयमा क्षति पुगेको छ । त्यस्तै विजुलीका करिब ४०० खम्बा ढलेका छन् ।
गए रातिको हावाहुरीबाट रैता गाविस–९ गुरासे बस्ने २० वर्षीया शान्तिकुमारी थापा मगरको घरको छाना भत्किँदा छानाले थिचिएर मृत्यु भएको र अन्य विभिन्न स्थानमा सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै हावाहुरीका कारण पञ्चावती, भलायडाँडा, साउने, राम्पुर ठोक्सिला, हटिया र चुरे क्षेत्रका तीन हजारभन्दा बढी सालका रुख ढल्दा रु १० करोड बराबरको क्षति भएको जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले बताउनुभयो ।
लगातार रातिको समयमा आएको हावाहुरीको कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया