राहत वितरण र टहरा निर्माणमा सक्रिय हुँदै युवा

इनेप्लिज २०७२ जेठ १३ गते ४:३९ मा प्रकाशित

Barpak-20गुन्सी (रामेछाप), १३ जेठ । गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पपीडितलाई राहत वितरण र टहरा निर्माणमा युवाहरू सक्रिय हुँदै गएका छन् ।

‘परिवर्तनका लागि युवा’ नामक संस्था र ‘राई एण्ड राईनी’ सेवा सङ्घमा आबद्ध करिब १५० युवाले भूकम्प प्रभावित रामेछाप, दोलखा, ललितपुर, भक्तपुरलगायत जिल्लामा राहत वितरणसँगै टहरा निर्माणमा सक्रिय हुँदै गएका हुन् ।

मङ्गलबार मात्र युवाहरूले आफैँले जुटाएर रामेछापको गुन्सी गाविस–१ का १५० घरधुरीमा दश बोरा चामल, २५ थान त्रिपाल, १५ कार्टुन चाउचाउ, दुई बोरा नुन, १५ बोरा चिउरा, करिब तीन सय जोर कपडा वितरण गरेको छ ।

सदरमुकाम मन्थलीबाट करिब ८० किलोमिटर उत्तरतिर पर्ने गुन्सी गाविसका ९५ प्रतिशत घर भूकम्पबाट पूर्ण रूपमा ध्वस्त भएका छन् । बचेका घरसमेत बस्न नमिल्ने गरी चर्किएका छन् । दिउँसो समय भएकाले खेतबारीमा गएका कारण सो गाविसमा मानवीय क्षति भने भएको छैन ।

गुन्सीबाट सदरमुकाम पुग्न करिब तीन घण्टा पैदलयात्रा गरी चार घण्टा मोटर चढ्नुपर्ने माझी उत्थान समाजका अध्यक्ष तथा गुन्सी–१ का भूकम्पपीडित विक्रम माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो गाविसमा सरकारका तर्फबाट अहिलेसम्म कोही फर्केर गएको छैन । करिब एक हजार ६०० जनसङ्ख्या रहेको सो गाविस काभ्रेपलान्चोकको मादनकुडारीसँग जोडिएको छ । मादनकुडारी र गुन्सी गाविसलाई गौरी खोलाले छुट्याएको छ । रामेछाप जिल्लाको सबैभन्दा दुर्गम गाविस भएको कारण पनि सरकारको तर्फबाट कोही फर्केर नआएको अध्यक्ष माझीको भनाइ छ ।

बारीमो डिलमा पाल टाँगेर बसेका गुन्सीका स्थानीयवासीले विभिन्न सङ्घसंस्थाले दाल चामललगायत सामग्री राहतस्वरूप वितरण गरेतापनि अहिलेसम्म कसैले पनि बस्ने बासको सम्बन्धमा चासो नदेखाएको गुनासो गरेका छन् । उनीहरूलाई गासभन्दा पनि बासको समस्या छ ।

गुन्सी गाविसमा तत्कालका लागि राहत वितरण गरिएपनि अबको केही दिनभित्रमै जस्ता पाता वितरण गरी युवाहरू आफैँले टहरा निर्माण गरिदिने राई एण्ड राइनी सेवा सङ्घकी उपाध्यक्ष कला राईले जानकारी दिनुभयो ।

सेवा सङ्घले दोलखामा ६५ थान त्रिपाल, २० बोरा चामल, १२ कार्टुन चाउचाउ, चिउरा, नुन, तेल, लत्ताकपडा वितरण गरिसकेको उपाध्यक्ष राईको भनाइ छ । सेवा सङ्घले ललितपुरमा पनि २३ बोरा चामल, दाल, तेल, चाउचाउ वितरणसँगै टहरा निर्माणमा सहयोग गरेको राईले बताउनुभयो ।

भूकम्प प्रभावित अन्य जिल्लामा समेत जस्तापाता र अन्य राहतका सामग्री वितरण गर्दै टहरा निर्माणका लागि सहयोग गर्ने परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । “हामीले हामीसँग भएर राहत वितरण गरेको होइन , विभिन्न अन्य सङ्घसंस्था र व्यक्तिसँगको सहयोगमा सङ्कलित राहत वितरण गरिएको हो, टहरा निर्माणमा भने आफैँ सहभागी भएका छौँ ।”–अध्यक्ष पहाडीले भन्नुभयो ।

एक नेपालीले अर्को नेपालीलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भावनात्मक हिसाबले आफूहरू स्वतःस्फूर्त राहत वितरण तथा टहरा निर्माणमा सक्रिय भएको परिवर्तनमा लागि युवा संस्थामा आबद्ध हेमन्त राईले बताउनुभयो ।

राहत वितरण र टहरा निर्माण टोलीमा विनिता राई, विवस राई, अन्जु श्रेष्ठ र विजय होङ राईलगायत सक्रिय रहनुभएको छ ।

प्रतिक्रिया