जोखिमपूर्ण भवन भत्काउने कार्य तीव्र गतिमा सुरु

इनेप्लिज २०७२ जेठ ११ गते ३:१४ मा प्रकाशित

Udayapur_district_locationगाईघाट (उदयपुर), ११ जेठ । गत बैशाख १२ गते र २९ गते गएको भूकम्पबाट भत्केका वा जोखिमपूर्ण बनेका उदयपुर जिल्लाका विभिन्न स्थानका घर, सरकारी कार्यालय तथा विद्यालय भत्काउने कार्य तीव्र गतिमा सुरु भएको छ ।

जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रलगायत भूकम्प प्रभावित पहाडी क्षेत्रको जोखिमपूर्ण बनेका घर तथा बिद्यालय र मठमन्दिर भत्काउने कार्य तीव्र गतिमा गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनुभयो । यस्ता जोखिमपूर्ण घर तथा भवन भत्काउनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

जिल्लाको मुख्य भूकम्प प्रभावित पहाडी क्षेत्रको रौता गाविस, पञ्चावती, हर्देनी, सोरुङछबीसे, भलायाडाँडा, डुम्रे क्षेत्रमा भूकम्पबाट जोखिमपूर्ण बनेका घर तथा बिद्यालय भत्काउन नेपाली सेनाको स्थानीय भवानी दल गणका जवानले काम थालेका छन् ।

यस्तै, त्रियुगा नगरपालिकालगायत कटारी क्षेत्र र पहाडी गाबिस जाँते, क्षेत्रका जोखिमपूर्ण संरचनाहरु भत्काउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

उदयपुरमा भूकम्पबाट पछिल्लो तथ्याङ्कअनुसार झन्डै सात हजार ८०० घर तथा सरकारी कार्यालय र बिद्यालयको संरचनामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । तीमध्ये ३५० घर तथा बिद्यालय र सरकारी कार्यालय भने भूकम्पबाट जोखिमपूर्ण बनेका छन् भने ९५ घर तथा सरकारी कार्यालय भने पूर्ण रुपमा ध्वस्त भएका छन् ।

प्रतिक्रिया