चितवन, १० जेठ । नौ वर्षअघि मृत्यु भएकी सासुको नामको जग्गा बुहारीले बिक्री गरेको खुलासा भएको छ ।
भरतपुर उपमहानगरपालिका–११ निवासी लोकमाया रानाभाटले आफ्नै सासु बुबुकुमारी रानाभाटको नाममा रहेको जग्गा आफ्नी माइतकी आमालाई मालपोत कार्यालयमा सासु बुबुकुमारी भएको भनी जग्गा बिक्री गरेकी हुन् । सासु बुबुकुमारीको २०६२ फागुन ११ गते मृत्यु भइसकेको छ ।
भाउजुले घरजग्गा बिक्री गरेको थाहा पाएपछि देवरहरु कुश्माखर र नरबहादुर रानाभाटले मालपोत कार्यालयमा निवेदन दर्ता गराएका थिए । लोकमायाले सामूहिक रुपमा रहेको भरतपुर–११ मा रहेको एक कठ्ठा जग्गा र सोमा बनेको पक्की घर लम्जुङ बाहुनडाँडा–५ निवासी पदमकुमारी न्यौपानेलाई रु ६५ लाखमा बिक्री गरेकी थिइन् ।
निज लोकमायाले सासुको मृत्युपछि सोही घरजग्गा पटकपटक बैंकमा राखेर ऋण लिएको समेत बताइएको छ ।
मालपोत कार्यालयमा उजुरी परेसँगै कार्यालयले ठगी गरी जग्गा बिक्री गर्ने लोकमाया, बुबुकुमारी हो भन्ने ८२ वर्षिया मोतीमाया रानाभाट र साक्षी बस्ने लोकमायाकी छोरी २१ वर्षीया ममता रानाभाटलाई प्रहरीको जिम्मा लगाएको सो कार्यालयले जनाएको छ ।
पीडित देवरहरु कुश्माखर र नरबहादुर रानाभाटको उजुरीको आधारमा लोकमायासहित आमा र छोरी एवं श्रीमान् सूर्यका नाममा जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।
प्रहरी निरीक्षक रुगम कुँवरका अनुसार ठगी अभियोगमा पक्राउ परेकाहरुमध्ये लोकमायालाई अदालतले पूर्वक्षका लागि थुनामा पठाएको छ भने बृद्ध आमा मोतीमाया, सूर्य र ममतालाई जनही २७ हजार धरौटीमा रिहा गरेको छ ।
जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याराज पौडेलका अनुसार सरकारीवादी सो मुद्दामा ठगीको अभियोग ठहरेमा निजहरुलाई बिगो भराई सोही बमोजिम जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुनेछ ।
प्रतिक्रिया