विपद् व्यवस्थापन समन्वय समिति गठन

इनेप्लिज २०७२ जेठ १० गते १४:१३ मा प्रकाशित

काठमाडौँ, १० जेठ । हालैको भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनले पुर्‍याएको धनजनको क्षतिलाई मध्यनजर गरी सोको उद्धार, राहत तथा व्यवस्थापनका लागि आवश्यक काम गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको संयोजकत्वमा मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

सो समितिमा मन्त्रालयका सचिव सह–संयोजक, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष, मन्त्रालयका सहसचिव, महिला तथा बालबालिका विभागका महानिर्देशक, समाज कल्याण परिषद्का निर्देशक, नेपालस्थित संयुक्त राष्ट्र सङ्घको नियोगबाट तोकिएका दुई प्रतिनिधि, अध्यक्ष र निजले तोकेबमोजिमको चार प्रतिनिधि, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष, प्रजातान्त्रिक गैरसरकारी सङ्घका अध्यक्ष, परिषद्का दुई सदस्य नीलमणि बराल र राकेश हमाल सदस्य रहने तथा समाज कल्याण परिषद्का सदस्यसचिवको रुपमा रहनु हुने परिषद्ले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

समितिले स्वदेशी तथा विदेशी सङ्घ संस्थाले गर्ने काम कारबाहीमा आइपरेका समस्या समाधानका लागि नेपाल सरकारसँग समन्वय गरी बाधा अड्काउ फुकाउन सहयोग गर्ने, स्वदेशी तथा विदेशी सङ्घ संस्थालाई परिचालन गर्न उत्प्रेरित गर्ने, मार्ग दर्शन गर्ने गराउनेलगायतका कार्य गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया