बाबियाचौर (म्याग्दी), १० जेठ । म्याग्दीको राम्चे–९ को पहाडबाट खसेको पहिरोले बैसरीमा थुनिएको कालीगण्डकी नदी खुलाउने प्रयास भए पनि सफल हुन सकेको छैन ।
आज बिहान १ बजेदेखि निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाएर थुनिएको नदी खुलाउन समस्या भएको हो । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव विष्टको नेतृत्वमा प्राविधिकसहित हेलिकप्टरमार्फत घटनास्थल पुगेको प्राविधिक टोलीले निरन्तर पहिरो खसेकाले तलाउ खुलाउन नसकिएको जनाएको छ ।
कालीगण्डकी थुनिँदा प्रतिघन्टा दुई लाख घनमिटर पानी जम्मा भएर तीन किलोमिटर माथिसम्म डुबान गराएको निर्देशनालयका प्रमुख सहायक रथी विष्टले बताउनुभयो । एक सय मिटर गहिराइको तलाउ आज अपराह्नसम्म भरिने अनुमान गरिएको उहाँले बताउनुभयो ।
आवश्यक तयारी गरी नदीमा थुप्रिएको पहिरो पन्छाएर नदीको प्रवाहलाई पहिलेकै अवस्थामा फर्काउन खोजे पनि पहिरो नरोकिँदासम्म काम गर्न नसक्ने अवस्था रहेको सहायक रथी विष्टले बताउनुभयो । करिब ५०० मिटर माथिबाट खसेको पहिरो बैसरीमा करिब २०० मिटर क्षेत्रमा थुप्रिएको छ ।
बेगको तिप्ल्याङसम्म तलाउ बनेको छ । तलाउको लम्बाइ बढी भएकाले फुट्ने सम्भावना कम रहेको र भरिएर पानी बग्ने प्राविधिक टोलीले जनाएको छ । तलाउ भरिएपछि सुरक्षित रुपमा पानी बग्ने व्यवस्था मिलाउन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको म्याग्दीस्थित नेपाली सेनाको इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवालले बताउनुभयो ।
घटनास्थलको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख विष्ट, नेपाल प्रहरीका एसएसपी सुवास चौधरी, हाइड्रोलोजिस्ट सुरेश मरहठ्ठा, जल तथा मौसम विज्ञान महाशाखाका विज्ञ विनोद पराजुलीको प्राविधिक टोलीले अध्ययन गरेको थियो । पहिरोका कारण भगवती गाविस–२ बैसरी र राम्चे–९ औलका २६ घर पुरिएको छ । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने उक्त बस्तीको नाम निसान छैन ।
करिब डेढ किलोमिटर बेनी–जोमसोम सडकमा क्षति पुगेको छ । बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल भत्किएका छन् । बैसरी माथिका मानव बस्तीमा अझसम्म डुबानको असर परेको छैन । बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, रातोपानी, पोखरेबगर, भुरुङ तातोपानीका बासिन्दा सुरक्षित ठाउँमा गइसकेका छन् ।
तटीय क्षेत्रमा तलाउ एक्कासि फुट्दा आउन सक्ने बाढीको सम्भावित जोखिम न्यून गर्न पिप्लेको घुमाउने ताल, गलेश्वर, म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वत बेनी, पर्वत बगरका बासिन्दालाई सुरक्षित स्थानमा पठाइसकेको प्रहरी नायब उपरीक्षक हिरा गिरीले बताउनुभयो । उहाँका अनुसार खबरामा रहेको जिल्ला कारागारका ९९ जना कैदीबन्दीलाई जिविसमा सारिएको छ ।
प्रतिक्रिया