मरेका पशुको कारण गाउँबस्ती दुर्गन्धित

इनेप्लिज २०७२ जेठ १० गते ३:०० मा प्रकाशित

IMG_9564त्रिशूली (नुवाकोट), १० जेठ । विनाशकारी भूकम्पका कारण मरेका पशुको उचित व्यवस्थापन नहुँदा जिल्लाका ग्रामीण भेगमा दुर्गन्ध फैलन थालेको छ ।

घरगोठ भत्किँदा मरेका पशुपक्षीको उचित व्यवस्थापनमा ध्यान नदिइएका कारण जिल्लाको दुर्गम गाविस साल्मेमा दुर्गन्धको समस्या सुरु भएको साल्मेका शिक्षक दिलबहादुर तामाङले बताउनुभयो । “पशुचौपायाको दुर्गन्धले गाउँमा अन्य रोग पो आउलाजस्तो भएको छ”, तामाङले भन्नुभयो–“भूकम्पले घरसम्पत्ति स्वाहा भएपछि उनीहरु सम्हालिनै सकेका छैनन्, मरेको पशु चौपायमा कसले ध्यान दिने ।”

भूकम्पबाट गाउँ नै ध्वस्त भएको र २० जनाको ज्यान गएको साल्मे अझै शोकमा रहेको छ । घर भत्केपछि अस्थायी बासस्थान बनाउन र भग्नावशेष हटाउन नै नसकेका साल्मेका पीडितले भग्नावशेषमा पुरिएका पशु निकाल्न सकेका छ्रैनन् ।

ग्रामीण भेगमा सबैतिर उद्धार टोली नपुगेको र स्थानीयवासीले पनि मरेको पशुको उचित व्यवस्थापनमा चासो नदिएका कारण दुर्गन्ध फैलन थालेको हो । जिल्लाका ६२ हजार घरमध्ये ५८ हजार घर भत्केका छन् । घरसँगै गोठ पनि भत्केकाले जिल्लामा हजारौँ पशुसमेत भूकम्पका कारण मरेका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार गाईगोरु, भैँसी, बाख्रा, कुखुरा गरी १३ हजारभन्दा बढी पशुपक्षी भूकम्पको कारण मरेका छन् । लच्याङ, घ्याङ्फेदी, राउतबेंसी, गाउँखर्क, बेतिनी, सिक्रे, छाप, साल्मे, भाल्चे, गोस्र्याङ, दाङसिङलगायत गाविसका दुर्गमबस्तीमा मरेका पशुचौपायाको व्यवस्थापनमा समस्या आएको स्थानीयवासीको गुनासो आउन थालेको छ ।

हरेक गाविसमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ । टोली मरेका पशुको व्यवस्थापन, धराप संरचना भत्काउन र अति अशक्तका लागि अस्थायी टहरा निर्माणमा समेत सघाउन गएको छ । टोलीले मरेका पशुचौपायाको पनि क्रमशः व्यवस्थापन गर्दै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया