सोलुखम्बुलाई सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि पहल गरिने

इनेप्लिज २०७२ जेठ १० गते २:५६ मा प्रकाशित

Solukhumbu_district_locationसोलुखुम्बु, १० जेठ । सिँचाइमन्त्री एनपी साउदले सोलुखुम्बुलाई भूकम्पबाट सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गरिने आश्वासन दिनुभएको छ ।

भूकम्पबाट सोलुखुम्बुमा गएको मानवीय तथा भौतिक क्षति र खोज, उद्धार तथा राहत वितरणका अनुगमन एवं सुपरीवेक्षणका लागि शनिबार यहाँ आउनुभएका मन्त्री साउदले अति प्रभावित एवम् पहिराको उच्च जोखिममा रहेको ठाउँमा अध्ययन गर्नका लागि प्राविधिक टोली खटाउने विषयमा पनि तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा पहल गरिने बताउनुभयो ।

कार्यक्रममा मन्त्री साउदलाई प्रजिअ एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष झङ्कनाथ ढकालले सोलुखुम्बुमा भइरहेको खोज, उद्धार एवम् राहतका विषयमा जानकारी गराउनुभएको थियो । सभासद् बलबहादुर केसीले राहत व्यवस्थापनलाई व्यवस्थित गरेर लैजान नसके ठूलो दुर्दशा व्यहोर्नुपर्ने चेतावनी दिँदै सोलुखुम्बुमा पाल वितरणमा एकरुपता नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया